मिसन अस्पताल पुग्ने बाटो २० दिन देखि बन्द ! विरामी मर्कामा

तानसेन राष्ट्रिय समाचार

पाल्पा । तानसेनमा अहिले बाटो तथा गल्लीहरुको मर्मत सुधारका लागि धेरै ठाउँहरुमा भत्काइएको छ । तर कामले गति लिन सकेको छैन । जसका कारण यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तपाई आफै कल्पना गर्नुस् । एउटा सामान्य बाटो मर्मतको लागि कति दिन लाग्ला ? बढीमा १ हप्ता १० दिन । तर यहाँ बाटो भत्काएको पनि झण्डै २० दिन भइसक्यो तर काम भत्काउनेमा मात्र सीमित छ । त्यो पनि अस्पताल आउने बाटो ।


तानसेन नगरपालिका वडा नं. १ गोर्खेकोटबाट मिसन अस्पताल आउने बाटो निर्माण व्यवसायीको ढिलासुस्तीका कारण २० दिनदेखि अवरुद्ध छ । निर्माण व्यवसायीले स्थानीय सरकारलाई टर्दैनन् । आफु अनुकुल काम गर्छन् । स्थानीय सरकार र यस आवद्ध प्राविधिकहरुको पनि सुस्ती पारा छ । जसका कारण निर्माण कार्यहरुले गति लिन सकेका छैनन् ।

नारायण मिसन गोर्खेकोट मोटर बाटो मर्मत कार्यका लागि जिम्मेवारी लिएको सन्त कन्स्टक्सन मकवानपुरको चरम लापरवाहीका कारण सर्वसाधारण यात्रु मात्रै नभएर बिरामीहरु समेत अप्ठेरोमा परेका छन् । पाल्पाको उत्तर क्षेत्र सहित स्यांगजा जिल्लाबाट युनाइटेड मिसन अस्पताल आउने यो मुख्य बाटो हो । कतिपय दिनमा त बाटो बन्द गरिएपनि कामका लागि एक जना पनि श्रमिक उनको फिल्डमा देखिदैनन् ।

निर्माण व्यवसायीले बाटो निर्माणको काममा निकै सुस्ती पन देखाएका छन् । उनले दैनिक ३, ४ जना मात्रै श्रमिकलाई बाटो निर्माणको काममा लगाउँदै आएका छन् । २०७५ चैत २५ गते सम्झौता भई २०७६ जेठ मसान्तमा म्याद सकिने गरि सम्झौता रहेको यो बाटो निर्माण गर्ने सम्झौता अवधि सकिएको छ । यो अवधिममा भएको राम्रै बाटो पनि भत्काउने र सामान्य जाली बुन्ने बाहेक कुनै काम भएको छैन । १६ लाख ४ हजार बैसठ्ठी रुपैयाँमा यो बाटोको मर्मतको लागि सम्झौता भएको हो । सम्झौता म्याद सकिएको छ तर निर्माण व्यवसायी भने नगरपालिकाका इन्जिनियर र प्राविधिकसितको मिलेमतोमा म्याद थप गराउने दाउमा छन् ।

निर्माण व्यवसायी सन्ते थिङले बाटो निर्माणको काममा आफ्नो ढिला सुस्ती भएको स्वीकार गरे । यो बीचमा नगरपालिकाबाट थप केही दिन म्याद थपिदिन्छौ भनेका छन् । उनले भने । अव कामलाई तीव्र गतिमा अगाडि बढाउँछौं । उनले भने ।

कामलाई तदारुकता दिन र समयमै सम्पन्न गराउन दवाव दिनुपर्ने निकाय स्थानीय सरकार तानसेन नगरपालिकाका प्राविधिकहरु भने निकै सुस्ती छन् । उनीहरु स्वयम् निर्माण ब्यसायीलाई अत्याउन डराउँछन् । जसका कारण काम ढिलो भएको हो । तानसेन नगरपालिकाका प्राविधिक टिकाराम सोमैले निर्माण व्यवसायीले अटेरी गर्ने गरेको, दिनमा ३, ४ जना मात्रै श्रमिक लगाएर काम गराउने गरेकाले काममा ढिलाई भएको स्वीकार गरे ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले निर्माण व्यवसायीलाई तत्काल कार्यालयमा बोलाएर ढिलासुस्ती हुनुको कारण बुझ्ने बताए । तानसेनका अरु कामहरु पनि निकै सुस्ती छन् । ५० बढी स्थानमा बाटो भत्काउने र मर्मत गर्ने काम चलिरहेको छ । कति पय स्थानमा त उचित बैकल्पिक बाटो समेत छैन ।

काम गर्ने प्रर्याप्त समय हुँदा हुँदै पनि ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको कामलाई पुनः मिलेमतोमा म्याद थप गराई समयमै हुन सक्ने कामलाई पनि ढिलासुस्तीका लागि प्रोत्साहन गर्न यहाँका इन्जिनियर र प्राविधिकको कामप्रति धेरैले चिन्ता ब्यक्त गरेका छन् । यो बाटोको सम्झौता र म्याद थप प्रक्रियाबारे हाम्रो निरन्तर खवरदारी रहनेछ । पाल्पा समचार डटकमबाट ।