पाल्पा : कार्यालय सहयोगीको भरमा आयुर्वेदिक औषधालय सेवाग्राही मर्कामा

रामपुर राष्ट्रिय समाचार
सेयर गर्नुहोस

असार ३, पाल्पा :

पाल्पाको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।

विगत सात महिनादेखि कार्यालय सहयोगी ईश्वरी अर्यालको भरमा सो औषधालय सञ्चालन हुँदै आएको छ । कार्यालय सहयोगी अर्याललाई आफ्नो कार्यभारभन्दा पनि बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने, औषधि वितरण, प्रेसर जाँच कार्यमा भ्याइनभ्याइ हुन्छ । कार्यालय प्रमुखदेखि सहयोगीका सबै काम उहाँ एक्लैले चलाउँदै आउनुभएको छ । सामान्य नेपाली अक्षर लेखपढ गर्न मात्र सक्ने अर्यालले सात महीनादेखि निरन्तररुपमा कविराज, वैद्यको जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो ।

“कविराज वैद्य कोही पनि नभएपछि कार्यालय प्रमुखदेखि लिएर सहयोगीसम्मका सबै कार्यभार मेरै जिम्मामा छ, कार्यालयमा मङ्सिरदेखि कोही पनि हुुनुहुन्न”, उहाँले भन्नुभयो । उहाँ बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयमा बसेर बिरामीको स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने गर्नुहुन्छ । “बिरामीले मेरो काम होइनभन्दा पनि बुझ्दैनन्, बाध्यताले स्वास्थ्य जाँजबुझ गर्ने, औषधि दिने गरेको छु, कार्यालय पनि जङ्गलको एकान्त र बीच भागमा हुँदा एक्लै बसेर काम गर्न पनि डर छ”, उहाँले गुनासो गर्नुभयो ।

औषधालयका कविराज राजिवकुमार भारती सर्लाही, वैद्य सुनिलकुमार चौधरी चितवनमा २०७५ मङ्सिर १ गतेदेखि सरुवा भएर गएपछि यस क्षेत्रका नागरिकले कार्यालय सहयोगीबाटै सेवा लिन बाध्य छन् । दैनिकजसो १० देखि १५ जनासम्म बिरामी आउने गरेको उहाँको भनाइ छ । रामपुर नगरपालिका वडा नं १, २, निस्दी गाउँपालिका वडा नं १ बाकामलाङ, नवलपुरको रकुवा लगायतका नागरिकले यस औषधालयबाट सेवा लिइरहेका छन् ।