पाल्पामा च्याउ खाएर थप ४ जनाको मृत्यु,मृत्यु हुनेको सख्या ६ पुग्यो ! सर्तकता अपनाउन डाक्टरको चेतावनी

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,जेठ ३१ । गत जेठ २४ गते च्याउ खाएर गभ्भीर बिरामी भएका पाल्पा निस्दी–३, सार्कीडाँडाका थप चार जनाको मृत्यु भएको छ । केही दिनअघि जङ्गलबाट ल्याएको बिषालु च्याउ खाएर गम्भीर बिरामी भएकामध्ये अहिलेसम्म छ जनाको मृत्यु भएको छ ।

जेठ २५ गते शनिबार बिरामी भएर नवलपुरस्थित मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि जेठ २६ गते चितवनस्थित विभिन्न अस्पतालमा दु्ई जना बालिकाको मृत्यु भएको थियो । निस्दी गाउँपालिका–३, सार्कीडाँडाका ९ वर्षकी निर्मलासिंह ठकुरी र ४ वर्षकी विष्णु सिंह ठकुरीको २५ गते मृत्यु भएको थियो ।

यस्तै ७ वर्षका सुमनसिंह ठकुरी, १४ वर्षकी निरुता, १२ वर्षकी निसा, ४५ वर्षका पूर्णबहादुर खाम्चाको काठमाडौँका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अन्य चार जनाको काडमाडौँमै उपचार भईरहेको पाल्पाका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

२९ वर्षकी दानमाया सिंह, ३० वर्षकी धनकुमारी सिंह, ३६ वर्षकी चनकुमारी खाम्चा र १५ वर्षकी बिमला खाम्चाको अवस्था अझै गम्भीर छ । च्याउ खाएर बिरामी भएर उपचार पछि ८० वर्षका प्रेमबहादुर ठकुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । – इरानिमहलबाट