सेना,गाँउपालिका र जनताको सहकार्यमा बाकुमगढी सम्म गोरेटो बाटो र सिढी निर्माण

पाल्पा विविध पूर्वखोला समाचार

पाल्पा,जेठ ३० ।
पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले जिल्लाको एैतिहासिक र महत्वपुर्ण गढीहरुको संरक्षणलाई अघि बढाएको छ । पूर्वखोला गाउँपालिकाको सहकार्यमा वडा ६ को ऐतिहासिक वाकुमगढीको डेढ किलो मिटर पैदलबाटो खन्नुको साथै बाकुमगढी संरक्षण गर्ने कार्य शुरु भएको हो ।

सेना र स्थानीय जनताको सहकार्यमा गोरेटोबाटो निर्माण पछि त्यहाँको ऐतिहासिकता बुझ्न र अध्ययन गर्न सहजता हुने अपेक्षा लिईएको छ ।
गाउँपालिकाको दुई लाख बजेटबाट शुरु भएको काममा स्थानीयको जनसहभागिता र सेनाको श्रमदानबाट दशलाख भन्दा बढीको काम भएको छ । सेना र जनताको सहकार्यमा भएका कामहरु गुणस्तरयुक्त र बजेट भन्दा कम लागतमा निर्माण गर्न सकिने अवधारणाको विकास भएको वडा ६ का वडाअध्यक्ष मनबहादुर सारुले बताउनुभयो ।

गोरखदलगणका गणपति प्रमुख सेनानी सुरज थापाले नेपाली सेना जनताका हरेक कदममा सहकार्य गर्ने योजना अनुरुप अगाडि वढेको बताउनुभयो । वाकुमगढी संरक्षणका लागि खनिएको बाटोले यस क्षेत्रमा धार्मिक तथा इतिहास अध्ययन गर्न आउँने पर्यटकको संख्या बढ्ने गणकासेनानी मेजर मनोज डंगोलले बताउनुभयो ।

प्रमुख अतिथि तथा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले, यहाँका ऐतिहासिक स्थलहरुको संरक्षणमा स्थानीय उपभोक्ता र जनता बीच सहकार्यका साथ हुने विकासका काममा स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वाकुमगढी किल्लामा पृथ्वीनारायण शाहले नेपाल एकिकरणका वेला गोर्खा र पाल्पाली सेनाबीच लडाई भएकोले यो ऐतिहासिक किल्लाका रुपमा प्रसिद्ध छ ।