स्थानीय तहमै एक सय पचास जनालाई रोजगार

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा ,जेठ १८/
स्थानीय तहमै एक सय पचाँस जनालाई रोजगार दिइएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले एक महिनाका लागि एक सय ५० जनालाई रोजगारी दिएको हो ।

सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक महिनाका लागि विभिन्न क्षेत्रमा एक सय पचास जनालाई रोजगारी दिइएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । गाउँपालिकाले १३ जनालाई शिक्षण संस्थामा, ४ जनालाई स्वास्थ्य संस्थामा, १५ जनालाई सिँचाई कुलो मर्मतमा, १५ जनालाई कृषि र पशुपालनमा, ७ जनालाई विद्युत मर्मतमा, १५ जनालाई खानेपानीमा र ८१ जनालाई सडकमर्मतको काम दिइएको अध्यक्ष पोखरेलले बताए ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गरेसँगै स्थानीय सरकारहरुले स्थानीयस्तरमा रोजगारलाई पहिलो प्रथमिकता दिएर अगाडि बढेका छन् । यस अघि जिल्लाको मुसिकोट नगरपालिकाले समेत ९० जना युवाहरुलाई रोजगार दिएको थियो ।

यो वर्ष थप पाँच लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको योजना रहेको छ । प्रधानमन्त्री रोजगार कार्याक्रम कार्यान्वयनका लागि मात्रै पाँच अर्ब एक करोड बजेट विनियोजन गरिएको छ ।