बगनासकालीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सार्वजनिक सुनुवाई

पाल्पा विविध वगनासकाली समाचार

पाल्पा जेठ १७ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे बगनासकाली गाउँपालिकाका सेवाप्रदायक र सेवाग्राहीबीच बगनासकाली पत्रकार समूहसितको समन्वयमा कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकामा सेवाप्रदायक र सेवाग्राही बीच रहेको दुरीलाई यसप्रकारको कार्यक्रमले नजिक बनाउन पहल गर्ने बताए । उनले सेवाग्राहीले सेवाग्राहीका सामु आफ्ना जिज्ञाशा, सुझाव सल्लाह राख्ने एउटा राम्रो अवसर भएको बताए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिका स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको पूर्ण उपयोग हुने गरि गाउँपालिकाले नीति कार्यक्रम अगाडि बढाएको बताइन् । उनले यसप्रकारको कार्यक्रमले गाउँपालिकालाई योजना निर्माण प्रक्रियामा समेत टेवा पुर्याउनेमा जोड दिइन् ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले यसप्रकारको कार्यक्रमका माध्यमबाट समुदाय स्तरमा परिवर्तन ल्याउन सकिने, सेवाप्रदायक प्रति सेवाग्राहीको धारणा पनि आउने भएकोले कार्यक्रम महत्वपुुर्ण रहेको बताए ।
सो अवसरमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनाल, कृषि शाखा प्रमुख सन्तोष जीसी, स्वास्थ्य शाखा उपप्रमुख ठानेश्वर बस्याल, पशु सेवा शाखा प्रमुख गणेश नेपालीले वर्ष भरि आफ्नो शाखाले सम्पादन गरेको काम, आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सेवाग्राहीहरुले युवालाई स्वरोजगार बनाउने बाहनामा प्रमाणपत्र धितो राखेर ऋण दिदा काम गर्ने चाहना भएका तर प्रमाणपत्र नभएका युवा अप्ठेरोमा परेको, सिंचाइको सुविधा पर्याप्त नभएको, बर्थिङ सेन्टरमा जेनेरेटरको ब्यवस्था नहुँदा बत्ती नभएको बेला मोवाइलको लाइट बालेर सेवा दिनुपरेको, पशु सेवा केन्द्रहरुले प्रभावकारी सेवा नदिएको लगायतका जिज्ञाशाहरु राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि, कर्मचारी तथा अन्य सेवाग्राही गरि ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगानाको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको संचालनमा चलेको थियो ।