आखिर किन भए पाल्पाका तीन टेलिभिजन बन्द, यस्तो छ रहस्य ?

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पापाटी डेस्क ।
पाल्पा, जेठ १३
जिल्लामा सञ्चालनमा रहेका तीन केबल टेलिभिजन बन्द भएका छन् । पाल्पा जिल्लामा केबलमा आधारित श्रीनगर, सुर्योदय र पाल्पा टेलिभिजन बन्द भएका हुन् । प्रक्रिया नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा टेलिभिजनहरु बन्द भएका हुन् ।

टेलिभिजनहरुले भने मन्त्रालयले नविकरण गर्न वा नयाँ दर्ता गर्न नदिँदा समस्या भएको बताएका छन् । जिल्लाबाट प्रशारित स्थानिय टेलिभिजन वैधानिक नभएको उजुरी जिल्ला प्रशासन कार्यालयमा परेको र सोही उजुरीका आधारमा प्रशासनले टेलिभिजन सञ्चालन,पत्रकार महासंघ र सम्बद्ध अन्य केहीलाई छलफलका लागि आईतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियो ।

श्रीनगर टेलिभिजनका स्टेशन म्यानेजर बिष्णु प्रसाद घिमिरेले पटकपटक विधान परिवर्तन हुँदा नविकरण हुन नसकेका कारण प्रक्रियामा जान खोज्दा खोज्दै पनि प्रशासनले केही व्यक्तिको मिलोमतोमा टेलिभिजन बन्द गर्न दबाब दिएको बताउनुभयो । पाल्पा टेलिभिजनका प्रमुख दिपक विश्वकर्माले प्रशासनबाट आदेश आएकै कारणले आइतबारबाटै टेलिभिजन बन्द गरको जानकारी दिनुभयो ।

सुर्योदय टेलिभिजनका निर्देशक सन्तोष बस्यालले नविकरण नहुँदा चलाउन पाउनुपर्छ भन्ने होईन, दर्ता वा नविकरण गरि सरकारले चलाउने वातावरण मिलाउनुपर्यो । ‘हाम्रो टेलिभिजनको नविकरण नभएको नै कुरा हो । देशभरमा ४० भन्दा बढी यस्ता टेलिभिजनहरु छन् । वैशाषसम्म मुद्दा थियो । सर्वोच्चले निर्णय पनि दिएन । नविकरण नभएपछि समाचारहरु बजाईएको थिएन । देशभरमा चलिरहेका छन् । यहाँका केही साथिहरुलाई चित्त बुझेको थिएन, बस्यालले भने, टेलिभिजनका कार्यरत १३ जनाको रोजगारी खोसिएको छ । केही भाईबैनी रोईरहेका छन् । व्यक्तिगत फाईदाका केही व्यक्तिले प्रशासनलाई केही कुरा लगाउँदा समस्या भयो । नविकरण नहुँदाचलाउन पाउनुपर्छ भन्ने माग पनि होईन हाम्रो ।’

एकाएक टेलिभिजन बन्दहुँदा सरोकारवाला निकाय र सञ्चारसम्बद्ध प्रतिनिधिमूलक संस्थाको गम्भिर ध्यान जानु आवश्यक छ । सरोकारवालाले यसलाई विशेष परामर्श गरी सञ्चालन विधिलाई सहज बनाउने प्रक्रियामा भुमिका निर्वाह गरोस् । अरुका विकृति औंल्याउने सञ्चारमाध्यमले आफ्नो सञ्चारमाध्यमलाई नियमसंगत सञ्चालन गरी आम जनतालाई सूचना प्रवाह गर्ने कार्यमा छिट्टै अगाडि बढुन् भन्ने आशा व्यक्त गर्दछौं ।

पाल्पामा केबलमा आधारित तीनवटामात्र टेलिभिजन थिए । जसले स्थानीय गतिविधि, अन्तरर्वार्ता र सांगितिक कार्यक्रम प्रशारण गर्ने गथ्र्ये ।