प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान ,विप्लवका कार्यकर्ता घाइते

राष्ट्रिय समाचार

७ जेठ, भोजपुर ।
भोजपुरमा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको हो ।

मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गरेपछि प्रहरीले जवाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।

उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ ।

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समूहका अन्य कार्यकर्ता खोटाङतर्फ भागेको प्रहरीले जनाएको छ ।