आफ्नै घरको हल गोरुको आक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु, घटना बारे भने प्रहरीलाई कुनै जानकारी नै आएन

तानसेन पाल्पा विविध राष्ट्रिय रैनादेवी समाचार

बैशाख ३०,पाल्पा ।
सुनिल कार्की ।
आफ्नै घरको गोरुले हानेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । रैनादेबी छहरा गाँउपालीका वडा नम्बर ४ मगालकी ४५ बर्षिया मान कुमारी बगालेको मृत्यु भएको स्थानीय बसन्ती थापाले जानकारी दिनुभयो ।

सोमबार दिउसो श्रीमान् सँगै घर नजिकैको खोलाखेतमा गोरु चराउन गएको बेला आफ्नै हलगोरु जुध्ने क्रममा बगाले घाइते भएको र उपचारको क्रममा मृत्यु भएको स्थानिय थापाले बताउनुभयो । मृतक बगालेको रिडिघाटमा दाहासंस्कार गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ । घर नजिकैको मगाल फाटमा आफ्नै घरको हल गोरु लिएर चराउन जाने क्रममा गोरु लडेको र छुट्याउन जाने क्रममा गोरुको आक्रमणबाट बगाले घाइते हुनुभएको थियो । घाइते बगालेको छहरा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको स्थानियले बताएका छन ।

घटना बारे भने स्थानियले प्रहरीलाई कुनै जानकारी नै नगराएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना बारे थाहा पाएर आधिकारीकता बुझ्दा मृतको दाहासंस्कार कार्य सकी सकेको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । घटना के कति कारणले भएको हो भन्ने बारे थप कुरा बुझ्न बाँकी रहेको प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।