निस्दीको ज्यामीरे जिप दुर्घटनामा चालक सहित ५ को मृत्यु

तानसेन निस्दी पूर्वखोला राष्ट्रिय समाचार

कृष्ण कार्की पाल्पा, १६ वैशाख ।
पाल्पाको निस्दी गाउ“पालिका–७, ज्यामिरेको चारघरेमा आज भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

निस्दी गाउपालिकाकै वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जादै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो । दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिएका छन् । दुर्घटनामा सोही जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन् ।

दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ । स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको छ । प्रहरी उपरीक्षक विश्वमणी पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी मित्यालबाट उद्दारका लागि खटिएका छन् । दुर्घटना के कति कारणले भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको हो ।