खानेपानी मन्त्रीको निर्देशनमा गुल्मीमा वाटर एम्बुलेन्सु,प्रभावित स्थानियमा खुसियाली

पाल्पा विविध राष्ट्रिय समाचार

बैशाख १६, पाल्पा ।
दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको छ ।

झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ ।

स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । त्यस ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।

केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एक जनाको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ ।

ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्नेलगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाइ छ ।

पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताउनुभयो ।