गुल्मीमा फैलिएको झाडापखाला अझै नियन्त्रण्मा आएन,एक बालकको ज्यान गयो, १७० जना बिरामी परे

राष्ट्रिय समाचार

वैशाख १५,पाल्पा ।

गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।

 

ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेको स्थानीय हरि छन्त्यालले जानकारी दिनुभयो ।

 

झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका ज्यान गएको हो । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।

 

दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिराम हुनेको  संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिनभयो  ।

 

स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले बताएको छ ।

 

झाडापखालाबाट बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ ।

 

दजाकोटमा फैलिएको झडापखालाको मुख्यकारण पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट डाक्टर प्रियंका श्रेष्ठको नेतृत्वको टोली शनिबार प्रकोप क्षेत्रमा आइपुगेको छ ।