सिर्जनशीलमा ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृतिको लोकार्पण

पाल्पा विविध

पाल्पा १५, बैशाख ।
पाल्पा पाटी डेस्क ।

पोखरामा शनिबार दुई कृतिको लोकार्पण भयो । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र पाल्पा साहित्य समाजको संयुक्त आयोजनामा पोखरा नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा एक विशेष समारोहको अयोजना गरी ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृतिको लोकार्पण भएको हो ।

पाल्पा साहित्य समाज र बगनासकाली साहित्य परिषद्का संरक्षक एवम् साहित्यप्रेमी राजेन्द्रगोपाल सिंहको संयोजनमा ‘सम्झनामा पोखरेली सर्जक’ कृतिको कवि एवम् संस्कृतिकर्मी तिर्थ श्रेष्ठले लोकापर्ण गर्नुभएको थियो ।

समारोहका प्रमुख अतिथि श्रेष्ठले पाल्पा पोखराको सम्बन्ध स्मरणीय रहेको भन्दै सिंहको संकलन अनुसन्धाताहरूको लागि सहयोगी बन्ने बताउनुभयो । श्रेष्ठले साना साना कुराले इतिहास बनाउन मद्दत गर्ने भएकोले सिंहको संकलनले पोखरेली स्रष्टाहरूलाई ताजा बनाएको बताउनुभयो । सिंहको कृतिमाथि टिप्पणी राख्दै को टिप्पणी राख्दै प्रतिष्ठानका संस्थापक सदस्य बेदहरि तिमिल्सिनाले पोखरेली कला, साहित्य, पर्यटन, संस्कृति, पत्रकारिता लगायतका विषयमा चासो राख्नेहरूका लागि कृति महत्त्वपूर्ण भएको बताउनुभयो ।

यस्तैगरी साहित्यकार केशवप्रसाद रेग्मीको ‘बालकेलि’ खण्डकाव्यको प्रतिष्ठानका पूर्व अध्यक्ष प्रा.डा. विष्णुप्रसाद पौडेलले लोकार्पण गरे । खण्डकाव्यको टिप्पणी गर्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. जगन्नाथ रेग्मीले खण्डकाव्यले बाल्यकालीन अनुभूति दिलाउने बताउनुभयो । रेगमीले प्रकृतिसँग बढी केन्द्रित खण्डकाव्यमा ८३ शार्दुलविक्रिडित छन्दका श्लोकहरू रहेको र कृति ४० पेजेको रहेको बताउनुभयो ।  सोही समारोहमा विभिन्न स्रष्टाहरूले शुभकामना मन्तव्य सहित रचना वाचन समेत गरेका थिए । सिर्जनशील लोतान्त्रिक प्रतिष्ठान, पोखराका अध्यक्ष डा.भूमिराज बास्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले पोखरा पाल्पाको सम्बन्ध निरन्तर रहिरहनुपर्नेमा जोड दिनुभयो । कृतिकार राजेन्द्रगोपाल सिंहले आफ्नो संकलन कुनै थेसीस, गाइड नभएर नयाँ प्रयोग भएको बताए । उहाँले कृति संयोजनको कामलाई आफूले कर्तव्यका रूपमा लिएको जनाउनुभयो ।

यस्तै खण्डकाव्यका कृतिकार केशवप्रसाद रेग्मीले आफूले बाल्यकालिन सम्झनाहरूलाई रचनामा उनेको जनाउँदै कृतिभित्रकै सिर्जना सुनाए । कार्यक्रममा प्रा.डा शालिग्राम सुवेदी, धर्मराज थापाका सुपुत्र मदनराज थापा, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य कल्याण पन्त, बगनासकाली साहित्य परिषद् पाल्पाका अध्यक्ष भोजराज भट्टरार्य, साहित्यकार डिल्लीराम कार्की, श्रीराम अधिकारी, भरत पोखरेल लगायतले आफ्नो धारणा सहित रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले स्वागत मन्तव्य तथा १० औं वर्ष प्रवेशको अवसमा प्रकाशित भित्तेपात्रोका बारेमा चर्चा गरेका गर्नुभएको थियो । कार्यक्रममा उद्घोषण प्रतिष्ठानका सहसचिव कृष्णप्रसाद त्रिपाठीले गर्नुभएको थियो ।