नसर्ने रोग सम्बन्धी एक दिने अभिमुखीकरण बगनासकालिमा सम्पन्न

वगनासकाली

पाल्पा, बैसाख १५ ।
सुनिल कार्की ।
बगनासकाली गाउपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारी र जनस्वास्थ्य कार्यालय पाल्पाका विश्वनाथ न्यौपानेले नसर्ने रोगहरुको बारेमा बताउदै क्यान्सर,मधुमेह,ब्लड प्रेसर, कोलस्ट्रोल साथै ,मुटु र मृगौलामा यस्ता खालका रोगले असर गर्ने बारे जानकारी समुदायमा गराउनु पर्ने बताउनुभयो । दैनिक खानपानमा बढि गुलियो,नुनिलो र चिल्लो कम गर्दै दैनिक ब्यायम गर्ने र धुम्रपान र मद्यपान बाट टाढा रहन सके नसर्ने रोगहरु लाग्न बाट बच्न सकिने डा. अधिकारीको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले मानिसको स्वास्थ्य सबैभन्दा बढी संबेदनशिल र प्रभावकारी हुने हुदाँ जन प्रतिनिधिहरु स्वास्थ्य सचेतनामा लाग्नुपर्ने बताउनु भयो । गाउँपालिका भित्र सबै नागरिक स्वस्थ रहनसके मात्र गाउँपालिकाको समृद्व हुन सक्ने बताउदै आगामी दिनहरुमा यस्ता स्वास्थ्य सचेतना कार्यक्रमहरु टोल टोल मा पु¥याइने उपाध्यक्ष चिदिले बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले व्यक्तिको दैनिकीमा परिबर्तन गरेर आफ्नो स्वास्थ्यका बारेमा सचेत रहनुपर्ने मा जोड दिनुभयो । बगनासकाली पत्रकार समूहका संयोजक दीपक ढुंगाना,वडा सदस्यहरु राजेन्द्र राना र नेत्रा पाण्डे लगायतले सिकेका कुरालाई आफ्नो दैनिकीमा प्रयोग गर्दै समुदायमा लागु गर्न प्रेरित गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो । रोग लाग्नभन्दा पहिले, रोग लाग्नबाट बचाउन समुदायलाइ सचेत बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बगनासकाली गाउँपालिका स्वास्थ्य साखा प्रमुख मणिराम अधिकारीले बताउनु भयो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

अभिमुखिकरण कार्यक्रममा गाउपालिकाका ९ वटा वडाका वडा सदस्यहरु र स्थानिय पत्रकारहरु गरि जम्मा ४० जनाको सहभागिता रहेको थियो ।