पाल्पाको अग्लो लेक रिमिघामा महोत्सव हुने

रम्भा

एवत सारु

पाल्पा १३ बैशाख

रिमिघा लेकमा साँस्कृतिक महोत्सव हुने भएको छ । रिमीघा लेकको सर्वोच्च स्थान तीनकन्या मन्दिर परिसरमा बसेको रम्भा गाउँपालिकाको बैठकले यही बैशाख ३० गते रिमीघा–रम्भादेवी महोत्सवको आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकमा गाउँपालिकाका सम्पूर्ण प्रतिनिधि, कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, संघसंस्था, राजनैतिक पार्टीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । रिमीघा लेक तथा रम्भा देवी मन्दिरको धार्मिक तथा पर्यटन विकासको लागि प्रचार प्रसार गर्न र यसको महत्वबारे जानकारी गराउन महोत्सवको आयोजना गर्न लागिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट रमाईलो प्रस्तुतीका साथै रिमीघा लेक तथा रम्भा देवी मन्दिरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको विषयमा प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भण्डारीले बताए । महोत्सवमा रम्भा गाउँपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामग्री समेत प्रदर्शनी गरिने छ ।

महोत्सव सफल तथा प्रभावकारी बनाउन रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसै गरि प्रचारप्रसार उप समिति, यातायात व्यवस्थापन उपसमिति, खानाखाजा आवास उपसमिति, साँस्कृतिक उपसमिति, स्वयम् सेवक परिचालन उपसमिति, मंच व्यवस्थापन तथा स्वागत उपसमिति, आर्थिक उप समिति तथा सचिवालय गरि ८ वटा उपसमिति गठन गरिएको छ ।

रम्भा गाउँपालिकाको वडा नं ५ ताहुँमा अवस्थित रम्भादेवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । सरकारले धार्मिक गन्तव्यको सूचिमा सुचिकृत गरेको रम्भादेवी मन्दिर र रिमीघा लेक करिब ५ किलोमिटरको दुरीमा अवस्थित रहेका छन् ।

रम्भा गाउँपालिकाको वडा नं २ फोक्सिङ्गकोट र वडा नं. ३ पिपलडाँडाको सिरानमा रिमिघा लेक अवस्थित रहेको छ । रिमीघा लेक समुद्र सतहदेखि १७९४ मिटर उचाईंमा रहेको रमणीय लेक हो । यहाँ ३४ मिटर लम्बाई रहेको जोगी गुफा, तीन कन्या मन्दिर, देश हेर्ने ढुङ्गा, ईनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, कालिका देवी मन्दिर, विशाल चउर रहेका छन् । साहसिक खेल प्याराग्लाडिङको उच्च सम्भावना समते रहेको रिमीघा लेकमा पर्यटक तान्न झोकेदीको टिमुरडाँडा देखि रिमीघाको काख सम्म मोटरबाटो खनिएको छ । चालु वर्ष गाउँपालिकाले १५ लाख रुपिया रकम विनियोजन गरि मोटरबाटो खनिएको छ ।