उद्योग वाणिज्य संघ २–४ जनाको मात्र होइनः नेता पाण्डे

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा
१७ चैत्र २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र पाण्डेले पाल्पा उद्योग वाणिज्य संघ २–४ जना व्यापारीको मात्र नभएको बताउनुभएको छ । पत्रकार कुटपिट लगत्तै पाल्पा वन्दको आह्वान गरेको उद्योग वाणिज्य संघ प्रति लक्षित गर्दै नेता पाण्डेले पत्रकार कुट्नेलाई छुटाउन माग गर्दै पाल्पा बन्द गर्नु उद्योग वाणिज्य संघको गल्ती भएको आरोप लगाउनुभयो ।
नेकपा पाल्पाको अगुवा कार्यकताहरुलाई आइतवार तानसेनमा सम्बोधन गर्दै नेता नेत्र पाण्डेले उद्योग वाणिज्य संघ २–४ जना व्यक्तिको मात्र हो भने नेकपा आवद्ध सवै व्यापारी निस्कने घोषणा समेत गर्नुभयो । सोही कार्यक्रममा सांसद सोमप्रसाद पाण्डेले कुटपिट गर्नु निन्दनिय कार्य भएको बताउदै दोषीलाई कारवाहीको माग गर्नुभयो । प्रदेश सांसद नारायण आचार्य लगायतका नेताहरुले कार्यक्रममा सम्बोधन गर्दै पत्रकार कुटपिट गर्नु निन्दनिय भएको उल्लेख गर्नुभयो ।
शुक्रवार दिउसो तानसेन नगरपालिका परिसरमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र पत्रकार विजय वौडेलमाथी कुटपिट भएको थियो । घटना लगत्तै ३ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरु निदोर्ष भएको भन्दै पाल्पा उद्योग वाणिज्य संघले शनिवार विहान देखी अनिश्चितकालिन पाल्पा बन्दको घोषणा गर्दै आएको छ ।