पत्रकार कुटपिटको आरोपमा पक्राउ परेका व्यवसायीलाई छुटाउन पाल्पा बन्द

पाल्पा विविध राष्ट्रिय समाचार

पत्रकार कुटपिटको आरोपमा पक्राउ परेका व्यवसायीलाई छाड्न माग गर्दे शनिबारदेखि पाल्पा उद्योग वाणिज्य संघले आब्हान गरेको पाल्पा बन्दले जनजीवन कष्टकर भएको छ । बन्दका कारण तानसेन बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । तानसेनबाट छुट्ने र बाहिरबाट तानसेन भित्रिने गाडी समेत नचलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय बौडेलमाथि कुटपिट गरेको आरोपमा बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिष्ट फेन्सी पसल, भट्राई पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष र रेग्मी मदिरा पसल सञ्चालक हुन् ।

तानसेन नगरपालिकाले गएको फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णयको विरुद्ध घरधनीहरुले नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा पत्रकारमाथि कुटपिट भएको हो । यसैविच पाल्पा उद्योग वाणिज्य संघले पक्राउ परेका व्यक्ति निदोर्ष भएको भन्दै विनाशर्त छुटाउन माग गर्दै वन्दको आह्वान गरेको हो ।