पत्रकार महासंघ पाल्पाका अध्यक्ष सहितका पत्रकारहरु माथी कुटपिट

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पापाटी
पाल्पा १५ चैत्र
तानसेन नगरपालिकाको हाताभित्रै शुक्रवार नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल सहित सदस्य विजय बौडेलमाथी कुटपिट भएको छ ।
तानसेन नगरपालिकाले गत फागुन १५ गते होलाङदी वसपार्क ढुङगाखानी सडक चौडा गर्ने निर्णय संग सम्बन्धीत विचार/लेख प्रकाशन गरेको भन्दै आन्दोलित समूहले शुक्रवार दिउँसो पत्रकार विजय वौडेललाई टुँडिखेलमा कुटपिट गरेको थियो । पत्रकार कुटपिटको घटना बुझन आएका महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालमाथी पनि सोहि समूहले आक्रामक शैलीमा कुटेको छ ।


महासंघ अध्यक्ष राजेश कुमार अर्याललाई टाउकोमा र पत्रकार विजय वौडेललाई छातीमा हिर्काएर लछार पछार पारिएको प्रतक्षदर्शी पत्रकारहरु बताए ।
घटना पछी पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलको सम्युक्त हस्ताक्षर सहितको विज्ञप्ती प्रकाशन भएको छ । समाचार प्रकाशन प्रशारण गरकै आधारमा कुटपिट गर्नु निन्दनीय कार्य भएको भन्दै दोषीलाई कारवाहीको माग विज्ञप्तीमा गरिएको छ ।
यसै विच नेपाल पत्रकार महासंघ पाल्पाले जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले समाचार प्रकाशन गरेकै कारण कुटपिट गर्नु निन्दनिय कार्य भएको बताउदै अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गरिने बताउनुभयो ।

घटनाको विवरणः
विजय वौडेलको कुराकानीबाटः
तानसेन नगरपालिकाको गत फागुन १५ को निर्णय कार्यान्वयन गर्नुहुदैन भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीहरु आज पनि नगरपालिकामा ध्यानाकर्षण गराउने कार्यक्रम रहेछ, मेयरसावलाई ध्यानाकर्षण गराएपछी वाहिर नगरपालिकाको हातामा थिए । म नगरपालिकामा अर्कै काम लिएर गएको थिए, मलाई देखेपछी केहीले हाम्रो विरुद्धमा समाचार लेख्ने मान्छे त्यही हो भन्दै खुसुखुसु गरिरहेका त्यसैक्रममा मलाई किन हाम्रो विरुद्धमा लेखिस तलाई बाच्नु छैन ? मदनपोखराको मान्छेले तानसेनको विषयमा किन चासो लिन्छस भन्दै कपडामा समातेर ५० मिटर जती पर घिसारे, केही पिट्न थाले । त्यही रहेका पत्रकारहरु माधव अर्याल, यज्ञमूर्ती तिमिल्सेना, दयाराज न्यौपाने लगायतले भिडबाट मलाई निकालेर नगरपालिकाभित्र मिनीहलमा लगे ।

यो घटना पछी पत्रकारहरु नगरपालिकाहलमा जम्मा भए, घटनाको विषयमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याललाई फोनबाट जानकारी गराउदै नगरपालिका आउन पत्रकारहरुले आग्रह गरे ।

राजेशकुमार अर्याल संगको कुराकानीबाटः
म रेडियो मदनपोखरामा थिए, पत्रकार साथीहरुले फोन गरेर विजयभाईलाई कुटपिट गरेको भनेपछी के रहेछ भन्दै म बुझन नगरपालिकामा आए । मूलगेटमा भिड थियो । ठूलो हलतर्फ जाने गेटनेर वाइक रोक्दा एकजनाले आएर राजेश अर्याल भन्ने तपाई हो भन्दै थिए, सोही क्रममा एक्कासी अरु पनि आए र टाउकोमा हिर्काउन थाले । शंकर भण्डारीको सहयोगमा मलाई गेटबाट भित्र हुदै मिनीहलमा पुगे त्यहा अन्य पत्रकार साथीहरु हुुनुहुन्थ्यो ।