तिनाउको झ्याङला स्मार्ट कृषि गाउँ बन्दै, स्मार्ट कृषि गाउले कृषकहरुको जिवनस्तर सुधार हुने भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको भनाई

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे

पाल्पा १३ फागुन
तिनाउ गाउपालिका वडा नं. २ दोभानको झयाङ्ला स्मार्ट कृषि गाउ बन्ने भएको छ । आम कृषकहरुको आयस्तर बृद्धी गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले तिनाउ २ दोभानको झयाङलालाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो ।
स्मार्ट कृषि गाउ बनाउन सोमवार एक कार्यक्रमका विच प्रदेश नं. ५ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका मन्त्री पौडेलले प्रदेशको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ बनाउन लागिएको बताउनुभयो । एक निर्वाचन क्षेत्रमा प्रदशे सरकारबाट ५० लाख वजेट विनियोजन गरिएको बताउदै मन्त्री पौडेलले स्थानीय सरकारले कम्तीमा २० प्रतिशत रकम विनियोजन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ५ का सभासद तुलाराम घर्तीले झयाङ्लामा मेहनती कृषक र उर्वर जमीन देखेर आफूले यो गाउँलाई स्मार्ट कृषि गाउ वनाउन सिफारिस गरेको बताउनु भयो । तिनाउ गाउपालिकाका अध्यक्ष ओम वहादुर घर्तीले स्मार्ट कृषि गाउ वनाउन बाटो, पानी, विद्युत लगायतका सुविधा बढाउन गाउपालिकाले सहयोग गर्ने बताउनुभयो । त्यस्तैगरी कृषिज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले स्मार्ट कृषि गाउ बनाउन आवश्यक कार्यविधीवारे जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा तिनाउ गाउपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्षहरु राजेश श्रेष्ठ र प्रेम पाण्डे, वाली विकास अधिकृत सुमन पाण्डे, अमर प्रधान लगायतले वोल्दै स्मार्ट कृषि गाउले जनताको जिवनस्तरमा सुधार आउने बताउनुभयो ।
स्मार्ट कृषि गाउ कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीको अध्यक्षता, चक्रव्यू थापाको स्वागत र इमान सिं थापाको संचालनमा कार्यक्रम संचालन भएको थियो ।