वगनासकाली ९ चापपानीमा आयोजित महायज्ञको आय–व्यय विवरण सार्वजनिक, प्राविधिक विद्यालय निर्माणका लागि १ करोड ३० लाख वचत

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा १२ फागुन
गत माघ २ देखी ८ गते सम्म वगनासकाली ९ चापपानीमा आयोजित महायज्ञको आइतवार आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
चन्द्र माध्यमिक विद्यालय वगनासकाली ९ चापपानीमा प्राविधिक शिक्षा संचालनार्थ महायज्ञ गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ठानेश्वर तिमिल्सेनाका अनुसार महायज्ञमा १ करोड ५८ लाख २० हजार आम्दानी भएको छ । महायज्ञ संचालन गर्दा कूल २७ लाख रुपैया खर्च भएको कोषाध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक शिक्षा स्थापनाका लागि महायज्ञबाट कूल १ करोड ३० लाख रुपैया बचत भएको छ ।
समितिका महासचिव कृष्ण भूसालका अनुसार जिल्लामा संचालित अन्य महायज्ञहरु भन्दा निकै कम खर्च र बढी बचत गरिएको छ । यस क्षेत्रका महिलाहरु, विद्यालयका शिक्षक शिक्षिका तथा स्थानीयहरुको खटाइका कारण विद्यालयले खर्च कम गरी बचत बढी गरेको हो, महासचिव भुसालले बताउनुभयो ।
खर्च सार्वजनिक कार्यक्रममा वगनासकाली ८ बराङ्दीका वडा अध्यक्ष गणेश बस्याल, पत्रकार महायसंघ पाल्पाका पूर्व सभापतिहरु गोविन्द भट्टरार्ई र भगवान भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सेना, प्रभानाध्यापक लक्ष्मण अधिकारी लगायतले वोल्दै, छिट्टै प्राविधिक विद्यालय तर्फको काम सुरुहुने बताउनुभयो ।
खर्च सार्वजनिक कार्यक्रम महासचिव कृष्ण भुसालको संचालन र संयोजक यमलाल तिमिल्सेनाको अध्यक्षतामा भएको थियो ।