रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रिव्दीकोट

पाल्पा, फागुन १
रिब्दीकोट गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ का सबै योजना जेठ मसान्तभित्रै सक्ने प्रतिवद्धता गरेको छ । गाउँपालिकाले मंगलबार गरेको सार्वजनिक सुनुवाईमा बहुवर्षिय टेन्डर बाहेकका अन्य योजना पुरा गर्ने प्रतिवद्धता गरेको हो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय इन्द्र पाण्डेले निर्माण कार्यमा मनपरी रुपमा डोजर प्रयोग गरिँदै आएको बताए । शेषनारायण पाण्डेले कृषकलाई पुरस्कृत भनेर अनेक वाहानामा गाउँपालिकाले विभिन्न खालका शर्तहरु तेर्साएर आफुलाई समस्या पारेको उल्लेख गरे । दिलीप रायमाझिले संस्थागत विद्यालयका विद्यार्थीहरुलाई विभेद गरिएको बताए । महिला स्वास्थ्य स्वर्यसेविका राधा नेपालले आफुहरुले लामो समय काम गरेको तर मूल्याङ्कन नभएको बताईन् । सिंहदरबारको अधिकार गाउँमा आएको प्रत्याभूति जनताले गर्न नपाएको बताउँदै दिपक पाण्डेले भैरवस्थान मन्दिरको भेटी गाउँपालिकाले आन्तरिक आम्दानीका रुपमा राख्नुपर्ने बताए । पालुङ्गमैनादीका खड्गबहदाुर थापाले बाटो सुधार गर्ने भनेर बजेट विनियोजन गरिएपनि बाटोमा सुधार नभएको गुनासो गरे । यस्तै विपक्षिका कुराहरु सुनुवाई नभएको, उपभोक्ता समितिमा समानुपातिक प्रतिनिधित्व नभएको तथा युवा प्रोत्साहन कार्यक्रम नभएको सेवाग्राहीले गुनासो गरेका थिए ।
सोही अवसरमा पिपुल्स क्रियशन प्रालिले ५० जना सेवाग्राहीले प्रकट गरेको अभिमतलाई बहिर्गमन अभिमतको नतिजाका रुपमा सार्वजनिक गरिएको थियो । उनले सार्वजनिक गरेको नतिजामा कार्यालयको नागरिक बडापत्रबारे ५६ प्रतिशतलाईमात्र जानकारी भएको, जनप्रतिनिधीले २८ प्रतिशत समस्याको समाधान दिन नसकेको, ४४ प्रतिशतले सेवा प्राप्त गर्न अपनाईएको प्रक्रिया लामो र झन्झटिलो भएको रहेको थियो । यस्तै कार्यालयको भौतिक पूर्वाधार र सरसफाईको राम्रो व्यवस्था भएको, कर्मचारीको व्यवहार मैत्रीपूर्ण रहेको लगाएको थियो ।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले आवधिक योजना निर्माण गर्ने क्रममा रहेको बताउँदै सञ्चालित योजनाहरु अधुरा नछोडिने बताए । ‘सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको निर्माण गरेर गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी लागि परेका छौं, जिसीले भने, एकल महिलाहरुलाई उद्यमशील बनाउने काम गरेका छौं । कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेका छौं । भैरवस्थान मन्दिरमा स्थानीय उत्पादनको बिक्रि गर्न कोशेली घर सञ्चालन गरेका छौं ।’ गाउँपालिकाकी न्यायीक समिति संयोजक लक्ष्मी खनालले चाल आवमा १० वटा उजुरी फछ्र्यौट गरेको बताईन् । उनले न्याय सम्पादनमा गोपनियता कायम गर्न बन्द इजलासको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले चालु आवमा हालसम्म ३१ दशमलव १६ प्रतिशत पुँजिगत र ३० दशमलव ७६ चालु बजेट खर्च भएको बताए । गाउँपालिकाको वेबसाईट अपडेट भएको, मोबाईल एप्स सञ्चालनमा आएको, सेतो घर कार्यक्रम, सेतो बत्ति कार्यक्रम, एक घर एक धारा कार्यक्रम, गाउँपालिकाको परिसरमा सभाहल, खेल मैदान निर्माण लगायतका कार्यक्रम सञ्चालनमा रहेको पौडेलले बताए । सहभागीको प्रश्नको जवाफ वडाअध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए । कार्यक्रम पिपुल्स क्रियशनका सहजकर्ता यज्ञमूर्ती तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको हो ।