पर्यटकीय गन्तव्य भैरवस्थान मन्दिर क्षेत्रमा कोशेली घर सञ्चालन

राष्ट्रिय

पाल्पा–धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित रिब्दीकोट गाउपालिका–४, प्रसिद्ध भैरवस्थान मन्दिर क्षेत्र कोशेली घर सञ्चालनमा आएपछि स्थानीयबासिन्दाको उत्पादनले बजार पाउने भएको छ । ऐतिहासिक स्थल भैरवस्थानमा गाउँपालिकाको ५ लाख सहयोगमा भैरवस्थान मन्दिर व्यवस्थापन समितिद्धारा कोशेली घर सञ्चालनमा ल्याएपछि स्थानीयबासिन्दा खुसी बनेका छन् ।

कोशेली घर कार्यक्रममा गाउपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोशेली घर मार्फत स्थानीय स्तरमा उत्पादित अन्नवालीको उपभोक्ताले सहज रुपमा पाउने भएकोले यो नौलो कामको थालनी भएको बताउनुभयो ।

स्थानीय किसानका उत्पादनले बजार पाउने र उपभोक्तालाई आर्गनिक तथा गाउँले झल्को मेटाउन कोशेली घर सफल हुने जीसीले बताउनुभयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउका उत्पादनले बजार पाउने भएपछि स्थानीयबासिन्दामा खुसी ल्याएको बताउनुभयो ।

कोशेली घरमा स्थानीय जातका अन्नवालीहरु कोदो, फापर, तितो फापरको पिठो, गहत, स्थानीय जातका राजमा, गहते सीमी, मास, कालो सीमी गहतेको दाल सेतो भटट, कालो भटट, तोरी जौ खुदो, मह,गुन्दुक, तरुल लगायतका स्थानीयत उत्पादनहरु पाइने  व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो ।
रिब्दीकोट गाउपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले कोशेली घर सञ्चालनका लागि कार्यविधि नै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बुटबलबाट सामन ल्याएर कोशेली घर सञ्चालन गर्ने होइन, हामीले स्थानीय स्तरमा उत्पादित बस्तुहरु पाइने थलोको रुपमा विश्वास जगाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सघका मोहन प्रसाद श्रेष्ठले कोशेली घर सञ्चालनले स्थानीय उत्पादनले बजार पाउन सहज हुने बताउनुभयो । कार्यक्रममा रिब्दीकोट गाउपालिका–४ वडाध्यक्ष दुर्गा प्रसाद खनाल र ८ का वडाध्यक्ष नारायण बहादुर लाम्टाङ्गेले कोशेली घर सञ्चालनले किसानलाई थप उत्साही बनाएको छ ।

मन्दिर दर्शन गर्न जानेहरु कोशेली घरमा झुमिन थालेका छन् । भैरव मन्दिर क्षेत्रको उकालोमा दुई ओटा सटरमा कोशेली घरले सेवा दिदै आएको छ ।