मिडिया समाजको शिक्षकःअध्यक्ष आचार्य

राष्ट्रिय

पाल्पा–नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मिडिया समाजको शिक्षक रहेको बताउनुभएको छ । उहाँले मिडियाले राजनीतिक परिवर्तनको आन्दोलनमा सहयात्रीको रुपमा राजनीतिक दललाई सहयोग गर्दै आएको बताउनुभयो । राष्ट्र र जनताको हितमा लामो समय देखि मुद्दा उठाउँदै आएको नेपाल पत्रकार महासघ पत्रकारको मात्र संस्था नभई नागरिक समाज रुपमा स्थापित बनेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासघ पाल्पा शाखाले रामपुरमा आयोजना गरेको ११ औं साधारण सभामा राजनैतिक परिर्वतनको आन्दोलन सफल भएको अब पत्रकारहरुको हकहितमा मुद्दा उठाउने पालो आएको बताउनुभयो ।प्रतिपक्ष हुदाँ प्रेस सम्वन्धी चर्का कुरा गर्ने सत्तामा पुगेपछि प्रेस स्वतन्त्रतामाथि अकुश लगाउने काम गर्ने परिपाटीका अन्त्य नभएको बताउनुभयो ।

कायक्रममा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयले देशमा आर्थिक रुपमा समृद्ध बनाउनका लागि संघ, प्रदेश, स्थानीय सरकार र सञ्चार जगतको सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रदेश नम्वर ५ का साँसद नारायण आचार्य, युवराज खनाल, वीर बहादुर राना र पुरमर्ति ढेगा नेपालको राजनैतिक परिर्वतनका बेला नेपाली मिडियाको ठुलो सहयोग रहेकोले अब आर्थिक समृद्धिका नारा सफल बनाउन अझै शसक्त रुपमा कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल र प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, रामपुर नगरपालिका प्रमुख रमण थापा, रिब्दीकोट गाउपालिकाका प्रमुख नारायण बहादुर जिसी, रम्भा गाउपालिकाका प्रमुख विष्णु भण्डारी,पूर्वखोला गाउपालिका प्रमुख नुन बहादुर थापा, निस्दी गाउपालिका प्रमुख मुक्त बहादुर सारुले समतामुलक समाज, सुशासन, आर्थिक विकासका लागि पत्रकारिताको भरपर्दौ माध्यम बनेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ पाल्पा शाखाका पूर्व अध्यक्ष मेघराज शर्मा, गोविन्द भटटराई, झपेन्द्र गहिरे, पाल्पा उद्योग वाणिज्य सघका मोहन प्रसाद श्रेष्ठ, पाल्पा व्यापार संघका चिरन्जीवी पोखरेल, रामपुुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र ढाकाल लगायतले दिगो विकास, सुशासनका कार्यक्रम गर्न पत्रकारिकता क्षेत्रको अतुलनीय भूमिका रहेको बताउनुभयो । कार्यक्रममा सघका सचिव टंकराज विश्वकर्माले सांगठनिक र कोषाध्यक्ष मिलन विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सघका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।