रिब्दीकोटद्वारा विपदका लागि सामग्री हस्तान्तरण

तानसेन

पाल्पा–रिब्दीकोट गाउँपालिका पाल्पाले विपदका बेला उद्दार तथा सहायता गर्न आफ्ना सबै वडालाई आवश्यक औजार तथा सामग्री प्रदान गरेको छ ।
गाउँपालिकाको कार्यालय खस्यौलीमा आयोजित कार्यक्रममा वडास्तरीय विपद पूर्व तयारी तथा प्रति कार्य सञ्चालन केन्द्रका लागि सामग्री हस्तान्तरण गरिएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी र गाउँपालिकाका अध्यक्ष नारायण जिसीले वडास्तरीय विपद व्यवस्थापन समितिका अध्यक्षलाई सामग्री हस्तान्तरण गर्नुभयो । रिब्दीकोट गाउँपालिकाले स्टेचर, भर्यारङ, हेल्मेट, गल, गैटी, बेल्चा, घन, बाल्टिनलगायतका ४० हजार रुपैंया बराबरको सामग्री ८ वटा वडा, २ प्रहरी चौकी र सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मनोहर प्रसाद खनालले विपद व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि रिब्दीकोट गाउँपालिकाले कानुन बनाएर पूर्वतयारीमा जुटेको र विपद व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले विकास निर्माणका संरचना बनाउँदा विपदका आँखाले हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले धेरै ठाउँमा भाउ बुझेर सामान खरिद गरिएको र सबै वडाले सामानको सही सदुपयोग र सुरक्षा गर्न आग्रह गर्नुभयो । न्याय दिएर मात्र हुँदैन, दिएको देखिनु पर्छ भने झैं विपदका क्षेत्रमा काम गरेको देखाउन मात्र औपचारिक कार्यक्रम गरिएको जीसीको भनाई छ ।

कार्यक्रममा वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेल, नेकपाका गाउँ अध्यक्ष चिरिञ्जीवी पोखरेल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बुद्धिप्रसाद शर्मालगायतले विपद व्यवस्थापनको क्षेत्रमा रिब्दीकोट पाल्पामै पहिलो बनेको बताउनुभयो । उपाध्यक्ष लक्ष्मी खनालको स्वागत, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलको सञ्चालन र अध्यक्ष जीसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले विपदमा परेकाहरुलाई गाउँपालिकाले हालसम्म २ लाख १९ हजार रुपैँया आर्थिक सहयोग पनि गरिएको जानकारी दिनुभयो । गाउँसभाबाट गएको असार १० गते विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन पारित गरी सो ऐन वमोजिम गाउँस्तरीय समिति गठन, वडा समिति गठन, सामग्री खरिद र वितरण गरी गाउँपालिकाले पूर्वतयारीको काम आरम्भ गरेको हो ।