तिनाउको बगाहमा स्वास्थ्य इकाई उद्घाटन 

राष्ट्रिय

पाल्पा-तिनाउ गाउँपालिका वार्ड नं.२ स्थित बगाहामा सामाजिक स्वास्थ्य इकाई स्थापना भएको छ । इकाईको एक समारोह बिच प्रदेश ५ का सांसद तुलाराम घर्ती (बसन्त)ले शुक्रबार उद्घाटन गरेका छन् । तिनाउ गाउँपालिका कार्यालयदेखि करिब ७ किलोमिटर दक्षिण रहेको सो गाउँमा वर्षौदेखि सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध थिएन । सरकारको स्वास्थ्य नीति अनुसार स्थानीय सरकारको आन्तरिक स्रोतबाट स्थापित बगाह सामाजिक स्वास्थ्य इकाईको उद्घाटन समारोहमा बोल्दै प्रदेश ५का सांसद तथा कार्यक्रमका प्रमुख अतिथि घर्तीले द्वन्दको समयमा आफूले पहिलो पटक भाषण गरेको स्थान यही भवन भएको बताउँदै सो स्थानमा जनताको चाहना र आवश्यकता रहेको स्वास्थ्य इकाईको शुभारम्भ गर्न पाउँदा सन्तुष्टी अनुभव गरेको बताए । उनले भने‘द्वन्दकालमा यसै स्थानबाट भाषण सुरु गरेको थिएँ । मुलुकमा गणतन्त्र र संघीयता पछि जनताले महसुस गर्न पाउने स्वास्थ्य जस्तो संवेदनशिल सेवाको शुभारम्भ गर्न पाउँदा म हर्षित छु ।यसै क्षेत्रबाट मलाई प्रदेश सभा सदस्यमा निर्वाचित गराउनु हुने सम्पूर्णलाई पुनः आभार प्रकट गर्दै यसको स्तरोन्नती र अन्य सेवाका लागि पनि पहल गर्नेछु ।’

कार्यक्रमकी विशिष्ट अतिथि तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले गाउँपालिकाले ग्रामिण भेगमा स्वास्थ्यको पहुँचका लागि विशेष प्राथमिकताका साथ गाउँपालिका अगाडि बढेको बताइन् । त्यसैगरी बिशिस्ट अतिथि गाउँपालिकाका प्रवक्ता तथा साेही वार्ड नं.२ का अध्यक्ष राजेश श्रेष्ठले गाउँपालिकामा ९ वटा स्वास्थ्य इकाई स्थापना गर्ने लक्ष्य रहेको बताउँदै हालसम्म वार्ड नं.१ को ओखलढुङ्गामा ,वार्ड नं.३ को झुम्सामा र वार्ड नं.२ को बगाहमा स्थापना भइ सकेको र आगामी दिनमा थप सेवा सहित अन्य स्थानमा शिघ्र स्वास्थ्य इकाई सञ्चालन गर्ने बताए । कार्यक्रममा गाउँपालिका स्वास्थ्य प्रमुख शोभाखर पोखरेलले स्वास्थ्य इकाईको बारे प्रकाश पारेका थिए ।

स्वास्थ्य इकाइको स्थापनाले बगाह सहित झ्याङ्गला,हरियाली गाउँ,भर्के,पाल्टाङ्गे,ह्वापुर,महापुर,पाल्टाङ्गे,खुर्साने र वडा नं १का हात्तीमारा,अारुखुदी लगाएतका गाउँका करिब ४ सय घरका १५ सय जना लाभाविन्त हुने कुरा प्रवक्ता श्रेष्ठले बताए । कार्यक्रममा वार्ड नं.३ का अध्यक्ष प्रेम प्रसाद पाण्डे, सामुदायिक वन समन्वय अमर प्रधान , काग्रेसका प्रतिनिधि पदम शाक्य, नेकपाका प्रदेश सदस्य चक्रव्यूह थापा , प्रहरी चौकी दोभानका इन्चार्ज एक्क बहादुर नेपाली लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रम स्थानीय युवा नेता दिनेश जोशीको सञ्चालन र मालमती थापाको स्वागत मन्तव्यमा साँस्कृतिक कार्यक्रम सहित भब्य रुपमा भएको थियो ।