पाल्पाबाट डायलाईसिस सेवा

राष्ट्रिय

पाल्पा-गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पाबाट डायलाईसिस सेवा सञ्चालन गर्ने भएको छ । जिल्लाबाट नियमित मृगौलाको डायलाईसिस सेवा सञ्चालन गर्नका लागि भवनको टुङ्गो लागेको छ ।

तानसेन नगरपालिका–६ लहरेपिपल श्री प्राथमिक बिद्यालयको नाममा रहेकोे भवनमा डायलाईसिस सेवा सञ्चालन टुङ्गो लागेको जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले बताउनुभयो । सो विद्यालय केही वर्षअघि गाभिएपछि कक्षाकोठा खाली रहेको थियो ।

विद्यालय भवनबाट डायलाईसिस सेवा सञ्चालन गरेसंगै रुपन्देही, चितवन र काठमाण्डौं जानुुपर्ने बाध्यता हटने भएको हो । छिमेकी जिल्लाहरु अर्घाखांची, गुल्मी, स्याङजा र बागलुङ्गबाट समेत नियमित रुपमा मृगौला डायलाईसिस गर्ने लक्ष्यका साथ पाल्पामा सेवा विस्तार गर्न लागेको हो ।

पाल्पाका ४८ जना मृगौलाका बिरामीहरु नियमित रुपमा डायलाईसिस सेवा लिदै आएका छन । पाल्पामा सेवा विस्तार गरेसँगै गुल्मी, अर्घाखांची, स्याङजाको र बागलुङ्गबाट ६२ जना बिरामीलाई उपचार सेवा लिन सजिलो हुने थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सेवा सञ्चालनको लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकासंग भवनको व्यवस्थापन गर्न आग्रह गरेको थियो । मृगौलाको डायलाईसिसको लागि हप्तामा २ देखि ३ पटक सम्म बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार रोटरी ईन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गर्ने छ । मृगौलाको डायलाईसिसको लागि स्वास्थ्य मन्त्रालयमा सूचिकृत भई बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला समन्वय समिति, पाल्पा पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्था र सरोकारवालाहरु सहितको सर्वदलिय, सर्वपक्षिय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाईसिस सेन्टरको लागि उपलब्ध गराउने निर्णय गरेको हो ।