अगुवा कार्यकर्ता भेलामा नेताहरुले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड

तिनाउ

पाल्पा-नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्धारा रैनादेवी छहरा गाउपालिका स्तरीय आयोजित अगुवा कार्यकर्ता भेलामा नेताहरुले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी बलियो नभएमा वामपन्थीको सरकार असफल हुने भएकोले पार्टी बलियो बनाउन सवै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । उच्च स्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोम प्रसाद पाण्डेयले स्थानीय सकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । स्थानीय सरकारलाई बलियो बनाउन सकेको अवस्थामा विकास र समृद्धिको नारा सफल हुने उहाँले बताउनुभएको हो । विकासका काम गर्ने स्थानीय तहलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको उहाँले जोडदिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्वोधन गर्दै जनप्रतिनिधिहरुले राम्रो काम नगरे देश र जनतालाई ठुलो घाटा लाग्ने भएकोले जनहितका काम गर्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी सवैभन्दा सुन्दर मोडमा रहेको बताउँदै वर्तमान सरकारले राम्रा काम नगर कम्युनिष्ट पार्टीलाई ठुलो नोक्सान हुने बताउनुभयो । सवै क्षेत्रमा नेकपाको बहुमत रहेको अवस्थामा सरकारले चुनावका प्रतिवद्धता पुरा गरेर देखाउने उहाँको तर्क थियो ।
नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले चुनावका बेला जनता सामु गरेका प्रतिवद्धता पुरा गर्न नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारका कामलाई सफल बनाउन पार्टी संगठन लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टी बलियो बनाउन सकेको अवस्थामा सरकारका काम कारबाही समेत प्रभावकारी हुने तर्क राख्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर पाँचका साँसद तुलाराम घर्ती मगरले पार्टी बलियो नभए सरकार बचाउन नसकिने बताउनुभयो । प्रदेश साँसद नारायण आचार्यले पार्टीले गरेका राम्रा कामको कार्यकर्ताले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला नेता नेत्रप्रसाद पाण्डेय, राम बहादुर राउत, झलक रायमाझी, कुलप्रसाद नेपाल, यादब बहादुर रायमाझी, तुलाराम गंरजना लगायतले निर्वाचन गरेका प्रतिवद्धता पुरा हुने गरेर नेकपा नेतृत्वको सरकारले काम गर्ने बताउनुभयो ।कार्यक्रममा नेकपाका रैनादेवी छहरा अन्तरगतका अगुवा कार्यकर्ताको सहभागीताले नेकपाले सामाजिक विकृतिको अन्त्य गरी व्यवस्थित पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए ।
नेकपाले पाल्पामा रामपुर नगरपालिका, निस्दी, रम्भा, पूर्वखोला, माथागढी, बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा गाउपालिका र तानसेन नगरपालिका अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलाले लामो समय नेकपाका कार्यकर्ता देखिएको निरासा अन्त्य गर्न सफल भएको छ ।