सहकारी चोरीको बिषयमा प्रहरीद्धारा प्रगति सार्वजनिक

राष्ट्रिय समाचार

पाल्पा–रामपुरस्थित सुरक्षा बचत तथा ऋण सहकारीमा भएको चोरीको विषयमा इलाका प्रहरी कार्यालयले प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गत साउन ८ गते राती सहकारीबाट नगद ११ लाख बढी रकम चोरी भएको थियो ।

प्रहरीले सहकारी सञ्चालक समिति, कर्मचारी, जनप्रततिनिधि, पत्रकार तथा सरोकारवालाहरुलाई चोरीको घटनामा भइरहेको अनुसन्धानका बिषयमा जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले झण्डै साढे २ महिनाको अबधिमा प्रहरीले स्थलगत तथा चोरीको भएको राती सो घटना क्षेत्रको वरपर भएको फोन कलको आधारमा अनुसन्धान भैरहेको बताउदै केही मानिसमा शंङ्का लागेकोले थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

पत्रकारहरुसँग प्रहरी निरिक्षक पाण्डेले भन्नुभयो– घटना भएपश्चात २ पटक काठमाडौं आफै पुगेर एलएसी र सेल आई डीको आधारमा सो समय घटना स्थलमा सक्रिय रहेका फोनहरुको आधारमा अनुसन्धान भैरहेको छ । केही मोवाईल अहिले अफ भएका छन् पाण्डेले भन्नुभयो त्यसका आधारमा ५० प्रतिशत बढी सफलता तर्फ पुगेका छौ । नमस्ते मोवाइलको नेटवर्कले बढी नम्बर समातेको हुदाँ त्यसको लागि केही समय लागेको उहाँले बताउनुभयो । अहिलेसम्म फोन कलका आधारमा जोडिएका झण्डै २ दर्जन बढी मानिसलाई ल्याएर अनुसन्धान गरिसकेका छौ पाण्डेले भन्नुभयो ।
सहकारी सञ्चालक समितिले नगद ५० हजार भन्दा माथिको रकम सहकारीमा राख्न नपाइने नियमलाई वेवास्ता गर्दै लाखौं रकम सहकारी कार्यालयको टेवल ¥याकमा राखिनु, शेयर सदस्यबाट दैनिक सङ्कलित रकम ८ दिनसम्म बैंङ्कमा जम्मा नगर्नु,सेफबाट कारोबार नगर्नु,सिसिटिभीको प्रयोग नहुनु, सहकारीको गेटको ताला नलाइनु, दराजको चावी दराजमा नै झुण्ड्याउनु लगायतका सहकारी सञ्चालक तथा व्यवस्थापनका काममा कमजोरी भेटिएको प्रहरीले जनाएको छ । घटना भएपश्चात पनि सुरक्षा सहकारीको सुरक्षामा समिति चुस्त दुरुस्त हुन नसकेको प्रहरीले जनाएको छ ।

सहकारीका अध्यक्ष लेखनाथ रेग्मीले सो समयमा आफु काठमाडौं गएको र चोरी भएको कसैले नदेखे नभेटेकोले आफुहरुले कसैमाथि औंला ठड्याउन सक्ने स्थिति नभएको बताउनुभयो । स्थानीय एक बिद्यालयका शिक्षक समेत रहनुभएका रेग्मीले सहकारी संस्था स्थापना गरेपनि आफुले चाहे अनुसारको समय दिन नसकेको बताउनुभयो ।

सहकारीका व्यवस्थापक चन्द्र बहादुर मल्लले रकम त्यसरी राखिएको बारे आफु अनबिज्ञ रहेको बताउनुभयो । दिउँसो रामपुरकै एक तालिममा सहभागी भएको बताउनुभएका व्यवस्थापक मल्ले भन्नुभयो–कर्मचारीले रकम भएको सुनाएनन् आफु बाहेक ६ जना कर्मचारी अफिस मै भएकोले सबै जिम्मेवारी स्टार्फलाई दिएको थिए । त्यसकारण चोरी राती मध्य रातपछि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सो दिन घरधनी बुद्धिप्रकाश रेग्मीको कोठा पनि फोरिएको थियो । रेग्मीको कोठाबाट आधातोला सुन सहित केही नगद चोरी भएको छ । घरधनी बाहिर भएको मौकामा भएको चोरीका बिषयमा बोल्दै रेग्मीले चोरी पश्चात पनि ५ लाख रकम त्यसैगरि राखिनु अर्को गल्ती भएको बताउनुभयो । पत्रकारहरुसँग जानकारी गराउदै रेग्मीले आफु सहकारीको शेयर सदस्य भएको र आफ्नै घरमा सहकारी बसेकोले बिभिन्न चुनौती आएपनि अझै सहकारी व्यवस्थित रुपमा चल्न नसकेको बताउनुभयो । सहकारीका व्यवस्थापक मल्ले घटना पश्चात पनि सेवाग्राहीलाई दैनिक सेवा दिनुपर्ने भएकाले सो रकम राखिएको बताउनुभयो ।

प्रगति सार्वजनिक गर्दै प्रहरी प्रमुख पाण्डेले सहकारी सञ्चालक समिति जागरुक भएर प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो । समितिले कर्मचारी जिम्मेवार र कर्मचारीले समिति जिम्मेवार नभएको दोसारोपण गर्नुभन्दा पाण्डेले भन्नुभयो–घटना पश्चात समिति, कर्मचारी, शेयर सदस्यको आनीवानी र छरछिमेकमा भेटिने नयाँ मानिसको सोधी खोजीमा सहयोग गरि अनुसन्धानमा सजिलो बनाउन आग्रह गर्नुभयो । पाल्पामा सहकारीमा चोरीका घटना बढेकाले अन्य सहकारीमा सेभ सिस्टमको प्रयोगले रकम चोरी हुन नपाएको बताउदै उहाँले सर्वसाधरणले बिश्वास गरेर बचत गरेको रकममा सहकारीका टिम चनाखो हुनुपर्ने बताउनुभयो । सहकारी सञ्चालक समितिद्धारा गठित चोरी घटना अनुसन्धान समितिका संयोजक तथा नगर उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले समितिले त्यहाँको क्रियाकलापबारे बेला–बेला जानकारी लिइरहेको र १५ दिनको पुनः म्याद थपि समितिले काम गरिरहेको बताउनुभयो ।