दमनी सराय महोत्सव हुने

तानसेन

पाल्पा–पाल्पाको रैनादेवी छहरा गाउपालिका–४ नम्वर वडा छहराले दमनी सराय महोत्सवको आयोजना गर्ने भएको छ । वडाले छहरामा दमनी सराय महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्र्ने निर्णय गरेको हो ।

छहरामा दमाई जातिका महिलाले परम्परादेखि नै सराय निकाल्दै आएका छन् । दशै पूर्णिमाको पाँच दिनपछि सराय अस्ताउने चलन रहेको छ । दमाई जातिको अगुवाई हुने सराय महोत्सव यस क्षेत्रको साँस्कृतिक महत्व झल्काउने गर्दछन् । यहाँको सरायमा पाल्पाका अधिकाँश स्थानबाट अवलोकनकर्ता आउने गर्दछन् । परम्परागत कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय तहको हो ।

रैनादेवी छहरा गाउपालिका–४ नम्वर वडाले आयोजना गरी दमनी सराय महोत्सवलाई पाल्पाको नमुना सरायका रुपमा सम्पन्न गर्न वडाले सहयोग गर्ने निर्णय गरेको वडाध्यक्ष विष्णु पोखरेलले बताउनुभयो ।दशैको अवधिमा घरमा आउनेहलाई यातायातको समस्याका कारण पैदल डिहन नपरोस भन्दै वडाभित्रका सवै सडक मर्मत हुनेछ । सडकमा खसेका पहिरा हटाउने तथा खाल्डाखुल्डीहरु पुरी यातायातको सहज पहुँच विस्तार गर्ने गरी वडाले निर्णय गरेको पोखरेलले बताउनुभयो ।

पञ्चायतकाल सार्वजनिक जग्गा, घडेरी तथा विद्यालयले रकम लिई वितरण गरेका जग्गा तथा घडेरीका लागत संकलन गर्ने, किशोर अवस्थाका युवाहरु कुलतमा संलग्न हुन थालेपछि वडाले होटल व्यवसायीसँग छलफल गरी मदिरा बेचविखनको निश्चित समयमा मात्र कारोबार गर्ने निर्णय भएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।