कालिका माविमा इन्जिनियरिङ विषयको पढाइ सुरु

राष्ट्रिय

पाल्पा–पाल्पाको रैनादेवी छहरा गाउपालिका–५, मुझुङ्गस्थित कालिका माविमा तीन बर्षे सिभिल इन्जिनियरिङ विषयको पढाई सुरु भएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा पहिलो पटक तीन बर्षे सिभिल इन्जिनियरिङ विषयको पढाई सुरु भएको हो ।

पाल्पाको पश्चिम भेगमा इन्जिनियरिङ विषयको पढाईले विद्यालयका सबैको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राविधिक शिक्षा अध्ययनका लागि जिल्ला सदरमुकाम तानसेन र अन्य जिल्लामा धाउनुपर्ने समस्या हल भएको छ ।

गाउँमा नै आफ्ना सन्तानलाई पढाउन पाएपछि स्थानीयबासिन्दा खुसी देखिन्छन् । सिभिल इन्जिनियरिङ अध्ययन गर्न पाएको बालबालिकाहरु पनि उस्तै खुसी छन् ।गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इन्जिनियरिङ विषयको उद्घाटन गर्दै गर्नुभयो । उहाँले बढ्दो बेरोजगार समस्या हल गर्नका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहने भएकोले कालिका माविमा तीन बर्षे सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनमा सहयोग गरेको बताए । इन्जिनियरिङ कक्षा सञ्चालनपछि प्राविधिक शिक्षा अध्ययनका लागि गाउपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताए  ।

विद्यालयले यस वर्षका ४८ जना विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्क बहादुर पुन मगरले बताए ।
यसवर्ष सिटिभिटीबाट विद्यालयलले सिभिल इन्जिनियरिङ विषय सञ्चालनमा गर्ने अनुमिति पाएपछि पढाई सुरु गरिएको हो । यस वर्ष ४८ जनाले पढ्न पाउनेछन् । त्यसमध्ये ३१ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भएका थिए । केही अन्यत्र प्रवेश परीक्षामा उर्तीण भएका विद्यार्थी अध्ययन गर्न आएको विद्यालयका हेडमास्टर जनार्दन पाण्डेयले बताए ।

गाउँमा प्राविधिक धार विकासले दक्ष जनशक्ति उत्पादन हुने र गाउँको विकासमा सहयोग पुग्ने समेत उहाँले बताए । विद्यालयमा ३ सय भन्दा बढी विद्यालय रहेका छन् । कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्ष चेतना गाहा, नेपाली काँग्रेस जिल्ला सचिव अजय कर्मचार्य, समाजसेवी राम बहादुर कार्की, गाउपालिका प्रवक्ता विष्णु पोखरेल,वडाध्यक्ष हुमानसिंह कार्कीले गुणस्तरीय शिक्षाका लागि विद्यालय र शिक्षकको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तीन बर्षे सिभिल इन्जिनियरिङ कार्यक्रम संयोजक सन्तोष खनाल, स्रोत व्यक्ति झलक राभमाझी, नेकपाका नेता युद्धबहादुर कार्की र नेपाली काँग्रेसका रेवन्त बहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम कार्की, भैरव नवदिप माविका हेडमास्टर होम बहादुर रायमाझी लगायतले सफलता देख्न चाहेकोले शिक्षक र विद्यार्थी मेहनत आवश्यक रहेको औल्याए ।

विद्यालयले तीन बर्षे सिभिल इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थी र शिक्षकलाई फुलमालाले स्वागत गरेको हो । सिभिल इन्जिनियरिङ विषय अध्ययनले विद्यालयमा खुसी ल्याएको थियो । विद्यालयका विद्यार्थीहरुले नाचगान गरी खुसीयाली साटासाट गरेको देखिन्थ्यो ।