आन्तरिक पर्यटकको गतिलो गन्तव्य बन्दै शिवासन क्षेत्र

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा–बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र आन्तरिक पर्यटकका लागि गतिलो पर्यटकीय गन्तव्य बन्दै गएको छ । महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाई, ८ फिट चौडाईको मुर्तिले यस भेगका आन्तरिक पर्यटकलाई मन लोभ्याउने सम्पदा हो । मुर्ति स्थापना गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास भएपछि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

३३ सय किलो शुद्ध तामा र पित्तलको ध्यान मुद्रामा शिवदेवताको मुर्ति स्थापनाले आन्तरिक पर्यटकको आकर्षण गर्ने स्थल बन्दै गएको हो ।

यस क्षेत्रमा प्रत्येक शनिबार ५० देखि १०० जनासम्मले यस क्षेत्रमा पर्यटकहरु देखिने गरेको महामृत्युञ्जय शिवासन क्षेत्र विकास समितिका अध्यक्ष माधव बस्यालले बताउनुभयो । विश्वको सवैभन्दा ठुलो मुर्ति स्थापनाको चर्चाले आन्तरिक पर्यटकहरु चहलपहल वर्सेनि बढेको हो ।

तानसेनदेखि चिलाङ्दी भञ्याङ्ग, चापपानी बराङगदी, खानीगाउ हुदैँ रानीमहल जाने सडक रहेकोले महामृत्युञ्जय शिवासन क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेको स्थानीय बासिन्दा बताउँछन् । महामृत्युञ्जय शिवासन क्षेत्रमा शिव देवको विशाल मुर्ति, नवदेवश्वर महाविशको लिङ्ग, अखण्ड शान्तिदिप र अखण्ड शान्ति धुनी रहेको छ ।

बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीका भिम बस्यालको अगुवाईमा अमेरिकमा बस्ने पाल्पालीको झण्डै रु. एक करोड आर्थिक सहयोगमा २०७० सालमा विशाल मुर्ति स्थापना भएको हो ।

“हामीले गुगलमा सर्च गरेर हेरेका छौं ध्यान मुद्रामा यति ठुलो मुर्ति देखिएको छैन, त्यसैले यो मुर्ति विश्वको ठुलो शिव देवको मुर्ति हो,” बस्यालले भन्नुभयो,– “आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन दैनिक रुपमा बढेको छ र विशेष गरी भारतबाट मुक्तिनाथ दर्शनका लागि हिडेका बाबा महामृत्युञ्जय शिवासन क्षेत्रमा एकरात बिताउँन रुचाउँछन् ।

”शिवासन क्षेत्रमा धर्मशाला, बृद्धश्रम, अनाथालय, शैदिक, पाठशाला, शौचालय लगायतका संरचनाहरु निर्माण गर्ने लक्ष्य रहेको समितिको दावी छ । यस्ता संरचनाहरु नेपाल मण्डप शैलिमा निर्माण हुने भौतिक संरचनाले पर्यटकको ध्यान तान्न सफल हुने स्थानीय बासिन्दा कृष्ण भूषालले बताउनुभयो ।

यस क्षेत्रमा कमण्डलु, बसाहा, घण्ट, त्रिशुल समेत विश्वका ठुलो बनाउने लक्ष्य छ । महाशिवरात्रीको अवसरमा शिवको मुर्तिको ११ मुरी, ११ पाथी, ११ माना, ११ माना शुद्ध गाईको दुध चढाउने चलन छ ।