रिब्दीकोट र रैनादेवीमा स्थानीय राजपत्र प्रकाशन

राष्ट्रिय

पाल्पा–रिब्दीकोट र रैनादेवी छहरा गाउपालिका स्थानीय राजपत्र प्रकाशनमा जुटेका छन् । स्थानीय तहका लागि आवश्यक ऐन कानुन निर्माण गर्दै कार्यान्वयन गर्नका लागि स्थानीय राजपत्र प्रकाशन गर्न थालेको हो । रिब्दीकोट गाउँपालिकाले दोस्रो खण्ड स्थानीय राजपत्र प्रकाशन गरिएको छ ।

गाउँसभाबाट पारित गरिएका कार्यविधि, निर्देशिका र ऐनहरु प्रमाणिकरणपछि प्रकाशनमा ल्याएको हो । स्थानीय तहमा पयाप्त कार्यविधि, निर्देशिका, ऐनहरुको अभावले कार्यसम्पादनमा असहजता आएकोमा यस स्थानीय राजपत्र प्रकाशन पछि नागरिकलाई सेवा प्रदानमा सहज हुनेछ ।गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले प्रकाशित स्थानीय राजपत्र सार्वजनिकीकरण गर्दै कार्यविधि, निर्देशिका र ऐनहरु बनेसँग कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।

स्थानीय राजपत्रको खण्ड २ भाग १ मा न्याययिक समिति उजुरी कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्ने बनेको ऐन २०७५, रिब्दीकोट गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, रिब्दीकोट गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि रहेको छ ।

स्थानीय राजपत्रमा रिब्दीकोट गाउँपालिकाको मर्मत सम्भार सञ्चालन कार्यविधि २०७५, रिब्दीकोट गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, रिब्दीकोट गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र नवीकरण र खारेजी खम्बन्धि कार्यविधि २०७५ रहेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । रिब्दीकोट गाउपालिकाकोे दोस्रो खण्ड ः राजपत्र सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल, गाउपालिका प्रवक्ता विष्णु प्रसाद खनाल, स्थानीय राजनीतिक दलको सहभागीता रहेको थियो । यसैबीच, रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक स्थानीय राजपत्र प्रकाशन गरेको छ ।

गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयक सहितको संगालोको रुपमा स्थानीय राजपत्र रहने छ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका प्रभावकारी काम हुन नसक्दा स्थानीयबासिन्दाले समस्या खेप्दै आएका थिए । स्थानीय तहमा राजपत्र सार्वजनिकीकरणसँग काम गर्ने बाटो खुलेपछि स्थानीय तहका कामकारबाही हुने भएपछि जनप्रतिनिधि सहित नागरिकहरुमा समेत खुसियाली छाएको छ ।

रैनादेवी छहरा गाउँपालिकाद्धारा आयोजित खुल्ला तीजगीत प्रतियोगीताको अवसरमा गाउपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकाको स्थानीय राजपत्र भाग १ र भाग २ सार्वजनिक गर्नुभएको हो । स्थानीय राजपत्र खण्ड १ को भाग १ मा विधेयक र कार्यविधि रहेको छ । भाग दुईमा दुई कार्यविधि, एक विधेयक र दुई निर्देशिका रहेको गाउपालिका अध्यक्ष कार्कीले बताउँनुभयो ।

राजपत्रको भाग १ मा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ र अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन संचालन कार्यविधि २०७५ रहेको छ । राजपत्रको भाग २ मा स्थानीय तहको उपभोक्ता, समिति गठन, परिचालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि २०७५, घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धि कार्यविधि २०७५ रहेको छ ।
सोही भागमा रैनादेवी छहरा गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, स्थानीय उर्जा विकास सम्वन्धि निर्देशिका २०७५ र रैनादेवी छहरा गाउँपालिकामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ रहेको छ ।गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय राजपत्र सार्वजनिकीकरणसँगै स्थानीय तहका कार्यसम्पादन प्रभावकारी हुने बताउनुभयो । कार्यविधि, निर्देशिका र विधेयक नहुदाँ कार्यसम्पादनमा समस्या रहेको थियो ।