गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मकै खन्दै, छर्दै

समाचार

पाल्पा–दायित्व नवयुवा अभियान्ता २०१८, सुर्यमुखी कृषि समुह पाल्पाले बगनासकाली गाउपालिकाको बराङ्दीमा बेमौसमी मकैबालीको खेती गर्न थालेका छन् । चैत्र बैशाखमा मकै बाली स्याहाने चटारोका बेला अभियान्ताहरुले सामुहिक रुपमा बेमौसमी मकैबालीप्रति किसानहरुलाई आकर्षित गर्नका लागि सो बालीको परीक्षण गरिएको हो ।

बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बारीमा कोदालोले ड्याङ्ग खनेर र उपाध्यक्ष सरस्वती चिदी मकै रोपेर बेमौसमी मकैबाली उत्पादन परीक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बगनासकाली गाउपालिकाको ९ ओटामा बेमौसमी अन्नवाली, तथा तरकारी खेती गरी नमुना गाउपालिका बनाउने अभियानमा सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो । उहाँले बेरोजगार युवा तथा विदेशबाट फर्केका युवाहरुका लागि गाउपालिकाले कार्यक्रम अघि सारेको र त्यसमा युवाको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उपाध्यक्ष सरस्वती चिदीले विदेशबाट फर्केका र स्वदेशमा रहेका युवाहरुले कृषि पेशाबाट राम्रो प्रगति गर्न सक्ने बताउनुभयो । पछिल्ला वर्ष बगनासकाली गाउपालिका तरकारी उत्पादनमा नमुना बनेको उहाँको भनाई थियो ।  कार्यक्रममा दायित्व नेपालका कार्यकारी निर्देशक डा. पुकार मल्ल, प्रशासकीय अधिकृत रामचन्द्र अर्याल, वडाध्यक्ष गणेश बस्यालले आर्थिक रुपान्तरणका लागि बेमौसमी अन्नवाली उत्पादनतर्फ लाग्न सकेको अवस्थामा युवा रोजगार अभियान सफल हुने बताउनुभयो ।

पछिल्ला वर्षमा बेमौसमी अन्नवाली, तरकारप्रति मानिसहरुको रुचि बढेसँगै अभियान्ताहरुले बेमौसमी मकै, मुला खेतीप्रति किसानहरुलाई आकर्षित गरी आयआर्जन गर्न सहयोग पुग्ने अभियान्ता विनोद भारतीले बताउनुभयो ।यो अभियानसँगै यहाँका २५ भन्दा बढी युवाहरुले व्यवसायिक रुपमा मुला र आलु खेती गर्ने छन् । परम्परागत अन्नवाली उत्पादन गर्दै आएका युवाहरुले बेमौसमी अन्नवाली उत्पादनसँगै आर्थिक रुपमा परिर्वतन हुने विमला बस्यालले बताउनुभयो । यो अभियान एक सय दिनसम्म सञ्चालन हुने छ ।

अभियानमा दुई पुरुष र ३ महिला रहेका छन् । यो अभियान सफल भएपछि बेमौसमी अन्नवाली उत्पादनमा स्थानीय तहमा नीति निर्माण सहयोग पुग्ने अभियान्ताको भनाई छ । अभियान्ता विनोद भारतीको अध्यक्षता, तुल्सी गैरेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा मनिसा पाण्डेयको स्वागत मन्तव्य र कृष्ण दर्नालले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।