कुुसुमखोलामा दलित सचेतना अभिवृद्धि

राष्ट्रिय

पाल्पा- रिब्दीकोट गाउपालिका–५ नम्वर वडा र दलित गाउ उत्थान समन्वय समितिको आयोजनामा दलित सचेतना अभिवृद्धि तथा काम कर्तव्य र अधिकार सम्वन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिममा रिब्दीकोट गाउपालिका–५, नम्वर वडा कृष्ण बहादुर थापाले वडाभित्रका दलित समुदायको उत्थानका लागि आफुले सहयोग गर्ने बताउनुभएको छ । उहाँले दलितका हितका लागि योजनाहरु वडामा आउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम मार्फत यहाँका ५५ घरपरिवार दलित समुदायलाई पचास प्रतिशत रकम वडाले बेहोरेकाले स्वास्थ्य सुविधा लिन आग्रह गर्नुभयो ।

दलित गाउ उत्थान समन्वय समिति, कुुसुमखोलाका अध्यक्ष सम्वर विसीले दलित लक्षित कार्यक्रम मार्फत दलित समुदायका लागि स्वास्थ्य बीमा, सामुदायिक भवन र सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले दलित समुदायका आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रुपमा पछाडि पारिएकोले उनीहरुको उत्थानका लागि स्थानीय तहको सहयोग चाहिने बताउनुभयो ।

वार एसोसियसन पाल्पाका अध्यक्ष जोग बहादुर विश्वकर्माले जातीय छुवाछूत न्युनीकरण, जातीय छुवाछूत विरुद्ध कसुर सजाय ऐन २०६८, देवानी र फौजदारी ऐन सम्वन्धि सहजीकरण गर्नुभएको थियो । दलित मुर्ति मोर्चा नेपालका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्माले नेपालमा जातीय छुवाछूत सुरुवात, त्यसले पारेको नेपाली समाजमा असरका बारेमा सहजीकरण गर्नुभयो ।

दलित महिला केन्द्रका कृष्ण दर्नालले नेपालमा समाजका कुप्रथा, जातीय छुवाछूत, जातीय छुवाछूत तथा विभेदको वर्तमान अवस्था र छुवाछूत न्युनीकरणका लागि स्थानीय तहको भूमिका विषयमा सहजीकरण गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव रिता विश्वकर्मा र राजु परियारले गर्नुृभएको थियो ।

दलित गाउ उत्थान समन्वय समिति, कुुसुमखोलाका अध्यक्ष सम्वर विसीको अध्यक्षतामा र गाउपालिकाका शिव जिसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । जातीय छुवाछूत, बोक्सी प्रथा र लैगिक हिसा पूर्ण रुपमा अन्त्य गर्न पहल हुनुपर्ने सहभागीले बताएका छन् ।