फेरि भेटौला भनेका बोहोरा !

तानसेन

पाल्पा–कालो कालो हिस्स परेको अनुहार । कालो अनुहारमा सधै मुसुक्क मुस्कुराउने बानी । निलो कोट, पाइन्ट र सेतो सर्टमा बुधबार फेरि भेटौला भनेर साथीहरु माझ विदा हुनु भयो ।

कर्मचारी मिलन केन्द्र पाल्पाका सचिव तथा डिभिजन सहकारी कार्यालय पाल्पाका अधिकृत कृष्ण बहादुर बोहोरा गत शुक्रबार विहान हुँमिनमा बस दुघटना हुदाँ उहाँको मृत्युले कर्मचारी मिलन केन्द्र, बोहोराको परिवार र तानसेनबासी भावविह्वल बनायो ।

दुर्घटनामा बोहोरा सहित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका १४ जनाको मृत्युले तानसेनबासीलाई रुवाइरहेको छ । बुधबार कर्मचारी मिलन केन्द्रद्धारा जिल्ला शिक्षा समन्वय इकाइकी प्रमुख संगीता रेग्मीको बिदाई कार्यक्रमको सञ्चालन पनि बोहोराले गर्नुभएको थियोे ।

कर्मचारी मिलन केन्द्र पाल्पा र आधिकारिक टेड युनियन पाल्पाद्धारा आयोजित पाँचौ दिनमा बोहोरा र दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली तथा शोकसभामा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बस दुघटनामा परी मृत्युको घटनाले हामी सवैलाई भावविह्वल बनाएको बताउनुभयो ।

कसैलाई पनि अप्रिय शब्द नबोल्ने राष्ट्र सेवक कर्मचारी र तानसेनबासीको निधनले ठूलो क्षति पुरयाएको ढकालले बताउनुभयो । प्रजिअ ढकालले भन्नुभयो, “मृतआत्मप्रति चिरशान्ति, परिवारजनमा समवेदना र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । ”

आधिकारिक टेड युनियन पाल्पाका अध्यक्ष दिवाकर अर्यालले कर्मचारी मिलन केन्द्रका सचिव तथा डिभिजन सहकारी कार्यालय पाल्पाका अधिकृत कृष्ण बहादुर बोहोराको निधनले हाम्रो राम्रो फुलबारीबाट सवैभन्दा राम्रो फुल गुमाउन बाध्य भएको बताउनुभयो । बोहोराले विदाई कार्यक्रममा सवै माझ फेरि भेटौला भन्दै हँसिलो अनुहारमा हलबाट निस्किनुभएको थियो । उहाँलाई हामीले फेरि भेटन सकिएन, अर्यालले भन्नुभयो, “सबै भन्दा राम्रो फुल गुमायौं । ”

कर्मचारी मिलन केन्द्र पाल्पा अध्यक्ष वासुदेव भटटराईले भन्नुभयो, “हाम्रो घरबाट बोहोराको निधनले कुशल राष्ट्र सेवक कर्मचारी गुमायौं । हाम्रा छिमेकी दाजुभाई दिदी बहिनी तथा तानसेनका गहना गुमायौं, तानसेनका सचेत नागरिक गुमाउँदा, हामी सबै दुखित छौं । ”

सडक दुघटनामा ज्यान गुमाउन बाध्य भएपनि पाल्पाका सडक फराकिला वा दुघटना कम हुने गरी बनाउनेमा चासो देखाएको पाइदैन । सडककै कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै पटक पटक आवाज निकाले पनि नसुन्दा मानवीय क्षति बढेका छन्, मानवीय त्रुटिका कारण हुने दुर्घटना रोकेर मानवीय क्षति कम गर्नुपर्ने जिल्लाबासीको भनाई छ ।