एकै मौसम चार तरकारी खेती फलाउन ब्यस्त

रामपुर राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा- जिल्लाको तानसेन–१२, बौघापोखराथोकस्थित देवीबहादुर रानाले एकै मौसम चार तरकारी बाली खेती फलाउन ब्यस्त छन् । मल्चिङ्ग प्रविधिकै कारण एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् ।

बारीमा ड्याङ्ग बनाएर नापेर गोलभेडाबाट अहिले एक लाख आम्दानी लिइ सक्नुभएको छ । गोलभेडाको बीच भागमा अहिले गोभी, सीमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै एक दुई लाख आम्दानी गर्ने लक्ष्य लिनुभएको छ ।

रानाले गोलभेडा रोप्दा खनजोत गरेर डयाङ्गमा प्लास्टिकले ढाकेको जमिनमा सिचाईका लागि पानीका लागि पाइप बिछाइएको छ । पाइपको बीच भागमा सिचाईका लागि प्वाल रहेका छन् । जहाँ जहाँ पाइपका प्वाल छन्, त्यही तरकारीका विरुवा रोपिन्छ, आवश्यक अनुसार तरकारीको फेदमा एकपटक थोपा सिँचाई हुन्छ ।

रानाले झण्डै १० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । ‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी हुने भएको छ,’ रानाले बताउनुभयो ।

रानाले साइप्रसमा सिकेको सीप सिकेर प्लाष्टिक र मल्चिङ् प्रविधिबाट तरकारी खेती उत्पादन गर्दै आएका छन् । अन्तरबाली प्रविधिलाई तरकारी खेती गर्दा किसानलाई पटक पटक खेतबारी खनजोत गर्न र झारपात हटाउन नपर्ने रानाको दावी छ । प्लास्टिकका कारण बारीमा झार उम्रिन नपाउने गर्दछ ।

देवीबहादुरले मुख्य बालीसंगै सहायक बालीको उपयोग गर्न थालेपछि आम्दानी पनि हुन थालेपछि अन्य किसानहरु समेत यो प्रविधिप्रति आकर्षित हुन थालेका छन् । स्थानीयबासिन्दा रुकबिर रेश्मीले तरकारीबालीबाट वार्षिक एक लाख भन्दा बढी आम्दानी गर्न थालेको बताउनुहुन्छ । गाउ“का कतिपय किसानले यस वर्ष बन्दा, सिमी, काक्रो र टमाटर स“गै रोपेका छन् ।

अन्तरबाली तरकारीबाट किसानले एकै सिजनमा कम्तीमा लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएका छन् । विदेशमा सिप सिकेर केही किसानले अन्तरबाली प्रयोग गरेपछि राम्रो आम्दानी लिन थालेका बताउनुभयो । कम जग्गा भएकाहरुलाई थोरै जग्गामा धेरै प्रकारको खेतीले कम मेहनतले किसानले बढी आम्दानी लिन सक्नेछन् ।