रम्भामा जनजाति तथा दलित गाउपालिका स्तरीय सञ्जाल गठन प्रक्रिया सुरु

राष्ट्रिय

पाल्पा–रम्भा गाउपालिकाले आदिबासी जनजाति तथा दलित गाउपालिका स्तरीय सञ्जाल गठन प्रक्रिया सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाले प्रत्येक वडामा ९ देखि १३ सदस्य वडा सञ्जाल गठन कार्य सम्पन्न भएपछि गाउपालिका स्तरीय आदिबासी जनजाति तथा दलित सञ्चालन गर्न प्रक्रियामा पुगेको हो ।

सञ्जाल गठन प्रक्रियाको उद्घाटन समरोहमा गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले देशमा तीन ओटा निर्वाचन सम्पन्न भएपछि अब युवालाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउनेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले युवा सार्थीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि लक्षित समुदायका लागि गाउपालिकाले बजेटको व्यवस्था गरेको बताउनुभयो ।लक्षित वर्गको कार्यक्रम सञ्चालनका लागि गाउपालिकाले कार्यविधि समेत निर्माण गरेको बताउनुभयो ।

गाउपालिकाले युवा र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि ढाका बुनाई र प्लम्विङ्ग तालितमा सञ्चालन गरेको छ । पाल्पाको ताहमा महिला र हुगीमा युवाका लागि प्लम्विङ्ग सञ्चालन रहेको छ । तालिमपछि महिला तथा युवाहरुले स्वरोजगार बन्ने आशा गाउपालिकाले लिएको हो । कार्यक्रममा १ नम्वर वडाका वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले महिला र युवाका गाउपालिका स्तरीय सञ्जाल निर्माण गरी काम अघि बढेको बताउनुभयो । उहाँले बर्थिङ्ग सेन्टर भएका वडामा प्रयोगशाला र बर्थिङ्ग नभएका वडामा बर्थिङ्ग संचालन गर्ने योजना रहेको बताउनुभयो ।

३ नम्वर वडाका वडाध्यक्ष थर्कबहादुर गाहाले नयाँ बन्ने समितिलाई सफलताको शुभकामना सहित प्रभावकारी काम गर्नका लागि सक्रिय भुमिका निभ्याउन अनुरोध गर्नुभयो । साथै ४१ नम्वर वडाका वडाध्यक्ष भोजबहादुर विकले आयआर्जनका कार्यक्रम गरी आत्मनिर्भर बन्दै गरीवी उन्मुलनमा सहयोग पुरयाउन अनुरोध गर्नुभयो । उहाँले नयाँ बन्न समितिले सही रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार कृष्ण दर्नालले रम्भा गाउपालिकाभित्र सामाजिक, साँस्कृतिक, शैक्षिक रुपान्तरण गर्दै अघि बढ्नुपर्ने आर्थिक रुपमा समृद्ध बन्ने बाटोहरु प्रशस्त रहेको बताउनुभयो । गाउपालिकाले गठन गर्न लागेको आदिबासी जनजाति र दलित सञ्चालनमा ९ सदस्य रहने छ । सो समितिका कार्यअवधि दुई वर्षको हुनेछ । सञ्जाल गठन सम्वन्धि प्रक्रियाका बारेमा गाउपालिकाका नायव सुब्बा रुकलाल भटटराई गर्नुभएको थियो ।