मुलढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै

राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा-शीतलपाटीमा रहेको राणकालिन मुल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पाल्पा तानसेन घुम्न आउने पर्यटकका लागि काष्ठकला कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति पर्यटक आकर्षित हुन्छन् । ढोकामा तस्विर खिच्नेहरु भीडभाड लाग्ने गर्दछ । यो ढोका काष्ठकला प्रयोग गरी निर्माण गरी ढोका सवैका लागि हेर्न लायक सम्पदा हो ।

आन्तरिक तथा बाह्य पर्यटकले चासोका साथ मुल ढोका अवलोकन र तस्विर लिनेहरुले गर्दा यस क्षेत्रमा अहिले चहलपहल बढेको स्थानीयबासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो । काष्ठकलाले भरिपूर्ण ढोका हेर्नका लागि दैनिक एक सय देखि पाँच सयसम्म आउने गर्दछन् । काष्ठकला प्रयोग गरी निर्माण गरिएको ढोका दक्षिण एसियाकै ठूलो काठकोे ढोका रहेको पाल्पाली दावी छ ।

श्री ३ जङगबहादुर राणाका भाइ बद्रीनर सिंह कुँवरले तानसेनमा तैनाथवाल रहँदा वि.सं. १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएको पाइन्छ । सुरक्षा नीति अनुसार नै दरबार क्षेत्रमा ढोका बनाएको हुन सक्छ । अहिले सो ढोकाभित्र पाल्पा दरबार संग्राहलय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, अनुसन्धान कार्यालय र विद्युत प्राधिकरण रहेका छन् ।

पुरानो मोडलमा ढाकामा काष्ठकला प्रयोग गरी निर्माण गरिएको भएपनि अहिले यसको संरक्षण ध्यान दिनसपर्ने स्थानीयबासिन्दा बताउँछन् । पुराना बस्तुको अवलोकन गर्ने परिपाटीको विकास भएपछि पाल्पाका रानीमहल, मुल ढोका, भैरवमन्दिर, करुवा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउछन् ।

ढोकाको संरक्षण वा पुनर्निर्माणमा ध्यान पुग्न नसक्दा जीर्ण भई भत्कन सक्ने खतरा समेत रहेको छ । पाल्पामा ऐतिहासिक सम्पदाहरु रहेपनि त्यसको उचित किसिमले संरक्षण हुन नसक्दा पाल्पा ओझेलमा रहेको होटलव्यवसायी जीवलाल सुवेदीले बताउनुभयो । पर्यटकीय महत्वको ढोका संरक्षण गर्नु आवश्यक रहेको तर खासै पहल हुन नसकेको होटलव्यवसायीहरु बताउछन् ।

२०६२ माघ १८ गने तत्कालीन माओवादीको पाल्पा दरबार आक्रमणमा मूल ढोका समेत जलेको थियो । ढोकाको टालटुल गरेर निर्माण गरिएको मूल ढोकालाई तानसेन गुठीले रङ्रोगन गरेर ढोकाको ऐतिहासिकताको बारेमा जानकारी समेटिएको बोर्ड राखेपछि यसको महत्व झनै बढेको छ ।