कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

तानसेन

पाल्पा-रिब्दीकोट गाउपालिका–१, जोगिथुमस्थित कालिका आधारभुत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

आर्थिक रुपमा अति विपन्न कुमाल समुदायका बालबालिकाहरु कक्षा छाडेर श्रम गर्न गएपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुलाई विद्यालयमा टिकाउने खाजेको हो । नयाँ शैक्षिकसत्रमा बालकक्षा देखि कक्षा ८ सम्म १ सय २९ बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन् । बालकक्षामा २०, कक्षा १ मा १६, कक्षा २ मा १०, कक्षा ३ मा १८, कक्षा ४ मा १४, कक्षा ५ मा १३, कक्षा ६ मा १३ कक्षा ७ मा १० र कक्षा १६ जना बालबालिकाहरु विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययन गर्दै आएका छन् ।

जेष्ठ १ गतेदेखि यहाँको कालिका आधारभुत विद्यालयमा दिवा खाजा सञ्चालन हुनेछ । विद्यालयको भर्ना अभियानका क्रममा समेत ३ जना बालबालिका भर्ना गरेको छ । गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले दिगो विकासको लक्ष्य सहित सन २०३० सम्म कुपोषण अन्त्य दिवा खाजा कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

गाउपालिकाले प्रति विद्यार्थी प्रतिदिन २० रुपैयाँ बराबरको आर्थिक सहयोग प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताउनुभयो । स्थानीय तह र विद्यालय बीच दिवा खाजा कार्यक्रम सम्झौता भएको छ ।