विष्णु प्रसाद घिमिरे
पाल्पा २ को प्रतिनिधिसभा सदस्यमा ठाकुर प्रसाद गैरे विजयी हुनुभएको छ । नेकपा एमालेका उमेदवार गैरेले २७ हजार ८ सय १७ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिष्प्रर्धी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उमेदवार सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ । गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पाल्पा क्षेत्र नं. २ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मतका साथ तेश्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिनुभयो । एमाले युवा नेता गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री संगै विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको महामन्त्री, गैरे भन्दा पछी अनेरास्ववियुको अध्यक्ष हुनुभएकी झाँक्री सांसद र एमाले विभाजनपछि शहरी विकास मन्त्री हुनुभयो ।
तर, गैरे पार्टीको आन्तरिक गुटबन्दीको कारण संसदीय राजनीतिमा प्रवेश नै गर्न पाउनुभएको थिएन । अहिले एमाले विभाजनपछि पाण्डेय नेकपा एकीकृत समाजवादीमा लागेसँगै गैरेले पहिलो पटक चुनाव लड्न टिकट पाउनुभएको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।
गैरेले राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाई गर्दै आएका नेताको पहिचान बनाउनुभएको छ । विगतमा गैरेलाई पाल्पा–२ मा टिकट दिनुपर्ने आवाज उठ्दै आएको थियो । तत्कालीन एमाले नेता माधव नेपालको जोडबलमा पाण्डेयलाई टिकट दिइँदै आएको नेता घिमिरेको भनाई छ । पाण्डेयलाई नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको साथ थियो । २०५१ देखी २०७९ सम्म ६ पटक लगातार उम्मेदवार बन्नुभएका पाण्डेय २०५१, २०५६, २०७० र २०७४ मा ४ पटक विजयी हुनुभएको थियो । २०६४ मा तत्कालिन नेकपा माओवादीकी लीला सोमैसंग पराजित हुनुपरेको थियो । पार्टीका आन्तरिक चुनावी प्रतिष्प्रधामा लोकप्रिय मतका साथ विजयी हुदै आउनुभएका गैरेको भने संसदीय निर्वाचनमा यो पहिलो अनुभव हुने गैरेको भनाई छ ।
पाल्पा– २०५१ देखी नै एमालेको पकड रहेको र लोकप्रिय नेता भएकाले गैरेको जीत सहज भएको एमाले नेता देवीप्रसाद बस्यालको भनाई छ । ‘ठाकुर जी प्रति कार्यकर्ताको सहानुभूती छ ।’ बस्याल भन्नुहुन्छ, ‘यो क्षेत्रले केन्द्रिय स्तरको नेता बनाउने सुनौलो अवसर पाएको छ ।’
२०५१ मा पाल्पाका ३ वटै क्षेत्र एमालेले जित हासिल गरेको थियो । त्यतीवेला नेपाली काँग्रेस विभाजित भएको थियो । पाल्पा २ मा पाण्डेयले नेपाली काँग्रेसका नेता गम्बिरजंग कार्कीलाई पराजित गर्नुभएको थियो । २०५६ मा तत्कालिन नेकपा एमाले विभाजित भई एमाले र माले बनेको थियो । पाल्पाका दिग्गज नेताहरु मालेमा प्रवेश गरेका थिए । यो पटक पनि यहाँका ३ वटै निर्वाचन क्षेत्रमा एमालेले जितेको थियो । २०५६ मा पाण्डेयले नेपाली काँग्रेसकै राजनप्रसाद पन्तलाई पराजित गर्नुभएको थियो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पाण्डेय नेकपा माओवादीकी नेता लीलासोमैसंग पराजित हुनुभएको थियो भने जिल्लाका अन्य २ क्षेत्र एमालेले जितेको थियो । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा पाण्डेयले नेपाली काँग्रेसकै नेता वीरबहादुर रानालाई पराजित गर्नुभएको थियो । २०७० मा पनि जिल्लाका ३ निर्वाचन क्षेत्र नै एमालेले जितेको थियो । २०७४ को संसदीय निर्वाचनमा पाण्डेयले नेपाली काँग्रेसकै हरिप्रसाद नेपाललाई पराजित गर्नुभएको थियो । २०६४ मा राज्य पूर्नसंरचना गरिएकोले पाल्पालाई २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो, दुवै क्षेत्र एमालेले जितेको थियो ।