पाल्पा, २७ कात्तिक
नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधी जनताले खोजेको बताउनु भएको छ । विगतमा विभिन्न नाता गोताको सहयोगमा उम्मेदवार बन्ने जितेपछी जनता लाई मुख पनि नदेखाउने उम्मेदवार संग जनता सावधान हुनुपर्ने उम्मेदवार गैरेले बताउनुभयो ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएका नेता गैरेले नागरिकले पाउनुपर्ने सेवा सर्वसुलभ र झन्झटमुक्त बनाउन जनप्रतिनिधिहरु जनताप्रति निष्ठावान बन्नुपर्ने बताउदै जनताका साना साना समस्याहरु समेत समयमै सम्बोधन गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको घरदैलोका क्रममा नेता गैरेले आफ्नो क्षेत्रभित्रका स्रोतसाधन, खानी र वनजङ्गल, पानीको मुहान, तालतलैया, धार्मिक स्थानलगायतका महत्वपूर्ण संरचना र स्रोतलाई प्राथमिकतामा राखी विकास योजना बनाएको बताउनु भयो ।
एमाले उम्मेदवार गैरेले चिदीपानीका सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क निर्माण, मठमन्दिर, पाटी, चौतारा, पुस्तकालय, खेलकुद मैदान जस्ता स्थलनिर्माणमा जोड दिने बताउनुभयो । गैरेले सबै प्रकारका कार्यका लागि स्थायी योजना तर्जुमा गर्ने प्रभावकारी प्रक्रियाको अवलम्बन गर्नु पनि जरुरी रहेको भन्दै योजनाबिनाको कार्य प्रभावकारी नहुने बताउनुभयो ।