विष्णु प्रसाद घिमिरे
पाल्पा ५ असोज
तानसेन नगरपालिका भित्रका नागरिकलाई विद्युत महसुलमा छुट हुने भएको छ । ५ एम्पियरको मिटर जडान गरी २० युनिट सम्म विद्युत खपत गर्ने घरधुरीहरुलाई महसुल छुट हुने भएको हो । तानसेन नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रसंग सम्झौता गर्दै, महिनामा २० युनिटसम्मको विद्युत खपत गर्ने १ हजार ८ सय १५ घरधुरीको विद्युत महसुल छुट गर्ने सम्झौता गरेको उपप्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो ।
विद्युत महसुल छुट कार्यविधी २०७९ अनुसार आर्थिक रुपले कमजोर रहेका घरधुरीहरुको पारिवारिक लगत संकलन गरी महसुल छुट दिने व्यवस्था मिलाइएको हो । यस अन्र्तगत प्रतिपरिवार एक वर्षको रु ३ सय ६० रुपैयाको दरले विद्युत महसुल विद्युत प्राधिकरणलाई अग्रिम भुक्तानी गर्ने सम्झौता गरिएको पाल्पा वितरण केन्द्रका प्रमुख इन्जिनियर विवेक अधिकारीले बताउनुभयो । यहाँका विपन्न परिवारलाई लक्षित गरी ११ औं नगरसभाबाट महसुल छुट गर्ने निर्णय गरिएको तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले लिफ्ट खानेपानी आयोजनामा विद्युत महसुलको २५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । पाल्पा जिल्लामा २० युनिट भन्दा थोरै विद्युत खपत गर्ने परिवारहरु २५ हजार रहेका छन् ।