विष्णु प्रसाद घिमिरे
पाल्पा, २८ भदौ
नेपाल प्रेस युनियनका नव निर्वाचित सभापती शिव लम्सालले पत्रकारहरुको क्षमता बिकासका लागि काम गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै, सभापति लम्सालले प्रेस युनियनलाई सक्रिय बनाउन सबै जिल्लाहरुमा पत्रकारिता तालिम सन्चालन गरिने बताउनुभएको हो । ‘नयाँ पत्रकार उत्पादन गर्नेभन्दा भएकालाई व्यवसायिक र दक्ष बनाउनुपर्छ,’ सभापति लम्सालले भन्नुभयो, ‘प्रविधिको विकास संगै पत्रकार र पत्रकारितालाई परिमार्जित गर्ने सीप र तालिमको खाँचो छ ।’
सभापति लम्सालले प्रदेश र जिल्ला अधिवेशनहरु छिट्टै गरिने उल्लेख गर्दै, युनियनको गरिमा उचो बनाउने गरी आफ्नो नेतृत्वले काम गर्ने बताउनुभयो । श्रमजीवी ऐन कार्यान्वयन र मिडिया विधेयक संशोधनमा युनियन लागेको पनि सभापति लम्सालको भनाई थियो ।