समय अनुकूल हुने प्रशासिनक परिवर्तनलाई स्थापित गर्न सिकाउँछ निजामती सेवाले । संघीयताका सिद्दान्त र सिकाइलाई सरल र सहज तुल्याउँदै सबैलाई समेट्न संघीय निजामती सेवा अपरिहार्य छ । यस सेवाको मूल मर्म भनेकै सार्वजनिक सेवाप्रवाह हो । “सेवा हीः परमो धर्म” सनातनी संस्कृति हो । मैत्रीपूर्ण कार्यान्वयन तह निजामती सेवाको शान हो । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापले आशा र अपेक्षालाई थप टेवा दिन्छ । समयको मागबमोजिम परिवर्तन हुँदै जान्छ निजामती सेवा । यस सेवालाई समय अनुकूलको सहयात्री बनाउने कार्यजिम्मेवारी सबै तहका कर्मचारीकै काँधमा आइपुगेको छ । निजामती सेवाले जनताका समस्यालाई केन्द्रविन्दुमा राखी समाधानको सुत्रलाई आत्मसात गरेको छ । सबैका आशा, विश्वास, भरोसा र अपेक्षालाई समिपबाट नियाल्दै कार्यान्वयनमा थप सुधार गर्ने बेला हो आजको ।

निजामती सेवा
राज्य सञ्चालन आँफै हुँदैन । सञ्चालन गर्ने भनेको सुव्यवस्थित तवरबाट सबै तहका सरकारले हो । सरकार वा प्रशासन राज्यको मष्तिष्क हो भने निजामती सेवाका कर्मचारीहरू उसका इन्द्रिय/कर्मेन्द्रियहरू हुन् । मष्तिष्कको निर्देशनमा चल्दछन् इन्द्रियहरू । मष्तिष्क र इन्द्रिय/कर्मेन्द्रिय आ–आफ्नै तवरले चल्न थालेमा एकात्मक शासन पलाउँछ । आशा र अपेक्षामा बाधा उत्पन्न हुन्छ । आशातीत प्रतिफल प्राप्त गर्न सकिँदैन आपसी समन्वयको अभावमा । मष्तिष्कले आफ्ना इन्द्रिय/कर्मेन्द्रियको क्षमता र इन्द्रिय/कर्मेन्द्रियले मष्तिष्कको मान राख्नु पर्दछ । सरकारको नीतिविपरीत कर्मचारीले र कर्मचारीको क्षमताविपरित सरकारले काम गर्नु/गराउनु निजामती सेवामा शोभनीय हुँदैन । सरकार र कर्मचारीको बुझाई एउटै भएमा मात्र अपेक्षाकृत निजामती सेवाले समाजमा समृद्धि ल्याउँछ । यसो भएमा सुनमा सुगन्ध स्वतः छाउँछ । द्विविधाको निराकरण र सरलताका लागि निजामती सेवाको उच्च एवम् निःस्वार्थपूर्ण भूमिकालाई आवश्यकता ठानिएको छ । यावत सरकारी संरचना, यसको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवाप्रवाहको स्थिति, उत्तरदायित्वको अपनत्त्व, पारदर्शिता, उत्प्रेरणा, मनोबल, अनुशासन र नैतिकता, सदाचार, सन्तुलित विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा उचित अनुगमन÷मूल्याङ्कनजस्ता विषयमा संघीय निजामती सेवाको अहम् भूमिका रहन्छ । जनताका आशा र विश्वासको मापन पनि यिनै विधिबाट हेरिन्छ । जनताका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू बोझिला मानिएका छन् । एकै प्रकृतिका कार्यसम्पादनमा दोहोरो स्रोत, साधन र समयको खर्च हुने र न्यून उपलब्धि प्राप्त हुने गरेको देखिन्छ । सरल नीतिमार्फत सहजकर्ताको भूमिकामा उभिनु पर्दछ वर्तमान निजामती सेवा । सार्वजनिक सेवामा समन्वयात्मक भूमिका होस् भन्ने सबैको चाहना तीब्र छ । यसो भएमा सहजै पुगिन्छ निजामती सेवाको परिकल्पित लक्ष्य र उद्धेश्यमा ।

आशा र अपेक्षाको केन्द्र सुशासन
निजामती सेवाको सुन्दरतामा सुशासन अभिन्न अंगका रुपमा अंगिकार गरिएकै छ सर्वत्र । सुशासनमा रामराज्यको परिकल्पना गरिएको पाइन्छ । नीति, विधि, थीति र रीतियुक्त प्रशासन नै खासमा सुशासन हो । राष्ट्रको चौतर्फी विकास र समृद्धिका लागि संघीय निजामती सेवाको आवश्यकता महसुस गरियो । जनमैत्री निजामती सेवा सेवाग्राहीका समीपमा रहने साथी हो । न्याय निसाफमार्फत समाजमा समन्याय र समता ल्याउनु राम्रो शासनको कडी हो । साधुलाई सुली र चोरलाई चौतारो नमिलोस् र नमिलाइयोस् भन्नका लागि निजामती सेवाको पहरेदारी अपरिहार्य हुन्छ । वर्तमान निजामती सेवालाई व्यवसायिक, स्वच्छ र गतिशील तुल्याउँन राजनीतिक सहमती र समझदारी अवस्यम्भावी छ । यसमा जनताको चाँसो झन् बढीरहेको छ र अधिक मात्रामा अपेक्षा पनि प्रस्तुत गरिरहेका छन् । खास तत्त्व अन्तरनिहित रहेको शालिग्रामजस्तै महत्त्वपूर्ण वस्तु हो निजामती सेवामा रहेको सुशासन । गण्डकीको शिरभागबाट बग्ने सबै ढुङ्गाहरू शालिग्राम बन्न सक्दैनन् । धेरैजसो ढुङ्गाका बाहिरपट्टी चुच्चा चुच्ची र विकारका वस्तुहरू बाक्लै टालिएका हुन्छन् । कुशासनरुपी विकृति, विसङ्गति, भ्रष्टाचार, अन्यायजस्ता वस्तुहरू पखालिएका छैनन् । यस खाले ढुङ्गा शालिग्राम होइनन् । शालिग्रामरुपी निजामती सेवालाई प्राप्त गर्न शालिग्राम बाहेकका ढुङ्गाहरूलाई गण्डकीमा होमिनु पर्दछ । निजामती सेवाले सार्वजनिक सरोकारका विषयमा सर्वधारणको पहुँचलाई परिपक्क पार्दछ । यस कार्यले सुशासनलाई थप परिष्कार गर्दछ भने आशा र अपेक्षा पुरा गर्नमा मूख्य भुमिका निर्वाह गर्दछ ।

निजामती सेवाप्रतिका आशा र अपेक्षाहरू
आमूल रुपमा सुधारिएको निजामती सेवा देख्न चाहेका छन् जनताहरू । झन्जटिला प्रक्रियाहरूलाई आत्मसात गर्न इन्कार गर्ने इच्छा राख्दछन् । छोटो समय र छरितो तरिकाले सेवा पाउँन लालायित छन् । आफ्नो छेउछाउमा आएर सेवा प्रदान गरोस् भन्ने चाहेका छन् । प्रविधिलाई अधिकत्तम रुपमा प्रयोग गरेको देख्ने आशा राख्दछन् । निजी क्षेत्रसँग तुलना गर्दछन् । आफूलाई सरकारी कर्मचारीले हप्काउने र दप्काउने भन्दा पनि सम्मानसहितको सेवा ग्रहण गर्ने उत्कट अभिलाशा लिएर आएका हुन्छन् । कोही कसैलाई भनसुन गर्नु नपरोस् भन्ने सोच्दछन् । सरल प्रक्रिया हुनु पर्ने र सहयोगी भावनाले ओतप्रोत होउन् र चुस्त दुरुस्त रुपमा काम हुने अपेक्षा गर्दछन् । स्मार्ट निजामती सेवाबाट सेवा लिन पाउँदा आफूलाई गौरव महसुस होस् भन्ने कुरा चाहेका छन् । जनकेन्द्रीत सेवा प्रदान गरेवापत नियमानुसार पाउने सुविधाबाहेक कोही कसैबाट कुनै पनि लाभ प्राप्ति गर्नु निजामती सेवाको पहिचानको विषय हुदै होइन । यस्तो नहोस् भन्ने जनअपेक्षाले गर्दा सरकार र निजामती सेवाको कार्यक्षेत्र तथा सेवाप्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । यस सेवालाई थप प्रभावयुक्त पार्न सबल र सक्षम निजामती कर्मीहरूले आफ्नो कार्यान्वयन पक्षलाई जनचाहना अनुरुप सुमार्गमा कुँदाएकै छन् । यिनीहरूको मर्म र भावना पनि जनतालाई बढीभन्दा बढी सरल ढंगबाट सेवा दिनु हो । राम्रोका लागि एक्लो प्रयास सम्भव छैन । सदासर्वदा स्तूत्य तथा सत्कार्य गर्नेहरू निजामती सेवाका हिमायतीहरू हुन् । उनीहरूलाई साथ दिनु जनता र सबै तहका नीति निर्माता वा जनप्रतिनिधिहरूको कर्तव्य पनि हुन आउँछ । यसरी सबैले आफ्नो कर्तव्य पुरा गरेमा अपेक्षाकृत संघीय निजामती सेवाको मुहार सुन्दर र चम्किलो देख्न सकिन्छ ।

निष्कर्ष
संघ, प्रदेश र स्थानीय सबै तहका कर्मचारीको साझा सेवा हो संघीय निजामती सेवा । जनचाहना अनुरुप परिवर्तित शासन व्यवस्थाले अपेक्षा गरेका उपलव्धीलाई संस्थागत गर्ने कर्मचारीहरू प्रमूख साधन र साधक पनि हुन् । सेवाग्राहीका समग्र अपेक्षालाई कार्यान्वयनमा ल्याउने मूख्य कार्य सबै तहका सरकार र कर्मचारीको हो । आवश्यक ऐन, नियम रुपी औजारको माध्यमबाट जनताको अपेक्षालाई कर्मचारीहरूले उनीहरूकै घरदैलोसम्म लैजान्छन् । अपेक्षाको पूर्णताका लागि सरकार र कर्मचारी दुवैको साझा हिस्सा र जिम्मेवारी रहन्छ एक रथका दुई पाङ्ग्राझैं । यस कार्यमा निजामती सेवाको भूमिका केन्द्रीय रुपमा रहेको देखिन्छ । विधि र विधानको उपयुक्त प्रयोग गरेकै कारणले न्यायसंगत र त्रुटीरहित ढङ्गबाट आशा, विश्वास र अपेक्षालाई समयमै सम्बोधन गर्ने मूख्य भूमिका निजामती सेवामै निहित रहेको बुझ्न सकिन्छ ।