जनताको साथमा काँग्रेस अभियान शुक्रवारदेखी देशैभर सुरु भएको छ । पाल्पामा पनि नेपाली काँग्रेसको अभियान ‘जनताको साथमा काँग्रेस’ शुभारम्भ गरिएको छ । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेताहरुले नेतृत्वसँग त्याग र समर्पण हुनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हरि प्रसाद नेपालले गठबन्धनको रुपमा सीट बाँडफाँडमा न्यायोचित हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपालले गाउँमा पुगेर जनताका समस्याहरुको पहिचान गर्नुपर्ने बताउँदै पाल्पा क्षेत्र नं।२ मा धेरै ध्यान पुगेको भन्दै निर्वाचनमा न्यायोचित ढंगले सीट बाँडफाँड हुने बताउनुभयो । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारमा विश्वासको मत नदिनु भएका सोमप्रसाद जी को कुरा आउँदैन, उहाँ विश्वासको मत दिने बेलामा मुद्दा लडिरहनु भएको थियो। पाल्पा क्षेत्र नं २ मा काँग्रेसले नै टिकट पाएर चुनाव लड्ने नेपालले संकेत गर्नुभयो ।

लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले नेतासँग त्याग, समर्पण र जिम्मेवारी बोध हुनुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन मन, वचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘गठबन्धन एक ठाउँमा छ, काँग्रेसको सिद्धान्त र विचारलाई कायम राख्ने कर्तव्य पनि हामीमा छ, त्यसैले सबै शसक्त ढंगले अभियानमा लाग्नुहोस् ।’ पार्टीमा रहेर पार्टीको विचार र सिद्धान्त विपरित काम गर्न कसैलाई छुट नभएको नेता रानाले बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जनताको घर आँगनमा पुगी काँग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग छलफल गर्नुपर्ने भन्दै अभियानको शुभारम्भ गरिएको बताउनुभयो । ‘ काँग्रेसले लिएको नीति, काँग्रेस नेतृत्वमा विगतमा हासिल गरिएका राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा जनतालाई सुसूचित गर्ने र निर्वाचनमा काँग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउन जनताको घरदैलोमा जाँदैछौं, श्रेष्ठले भन्नुभयो ।’

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नेता बनेर जनताको सेवा गर्छु भन्ने भावना भएकाहरूले मनमा कुण्ठा राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, मनमा द्वेश कुरा राखेर राजनीति गर्नुपर्दैन त्यसो गर्न त व्यापार र नोकरीमा जानुपर्छ । नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्मा, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौड्याल लगायतले अभियानलाइ सार्थक बनाउन र सबैलाइ आग्रह गर्नुभयो ।

शुभारम्भ कार्यक्रम जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, पार्टी प्रवक्ता शोभाकर न्यौपानेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । भदौ २४ गते बिपी जयन्तीका दिन अभियानको पहिलो चरणको कार्यक्रम समापन हुने छ ।
सेरोफेरो न्यूजबाट