विष्णु घिमिरे
पाल्पा । १४ । साउन ।
हेफर प्रोजेक्ट नेपालले ५० प्रतिशत अनुदानमा तानसेनका कृषकहरुलाई ६६ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । प्रोजेक्टले ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा विभिन्न वडाका ६६ जना कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको हेफर प्रोजेक्ट नेपालले जनाएको छ ।
तानसेनको वडा नं. १४ अर्गलीमा २० वटा, वडा नंं ११को वाझामा ६ वटा, वडा नं. १० को तेल्घामा १७ वटा, वडा नं. ५ मा २ वटा, वडा नं. ८ र ९ मा २१ वटा गरी ६६ वटा हाते ट्रयाक्टर वितरण गरिएको हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेयले पाल्पापाटीलाई बताउनुभयो । पाण्डेका अनुसार आधुनिक र व्यवसायिक कृषि प्रणाली अपनाउन र उद्यपादकत्वमा वृद्धीका लागि मागमा आधारित कार्यक्रम अन्र्तगत हाते ट्रयाक्टर वितरण गरिएको हो ।


तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा तानसेन कृषि तथा पशु उद्यमशिलता विकास परियोजना विगत ३१ महिनादेखी संचालन हुदै आएको छ । तानसेन नगरपालिकाको समन्वय र ग्रामिण आर्थिक विकास संघ रेडाको सहजिकरणमा हेफर प्रोजेक्ट नेपालको ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाले जनाएको छ ।
हाते ट्रयाक्टर वितरण कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले कृषकहरुलाई कृषि र पशुपालनमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने बनाउनका लागि हेफर संगै तानसेन नगरपालिकाले हातेमालो गरेको बताउनुभयो । उपप्रमुख सिंजालीले तानसेनका ग्रामिण क्षेत्रहरुमा कतिपय कृषि तथा वाख्रा पालनमा वार्षिक करोडौको निर्यात समेत हुने गरेको बताउनुभयो ।


कार्यक्रममा तानसेन वडा नंं ११ का वडा अध्यक्ष तथा प्रवत्ता यादव सिं कार्की, वडा नं. ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, वडा नं. ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल र वडा नं. १४ का वडा अध्यक्ष शोभाखर भटटराईले तानसेनमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाले कृषकहरुको उत्पादन निर्यातमा पुगेकोमा खुसी व्यक्त गर्दै, प्रविधि विनाको कृषि सम्भव नहुने भन्दै हाते ट्रयाक्टर वितरणले कृषकहरुमा थप राहत पुगेको धारणा राख्नुभएको थियो ।