विष्णु घिमिरे । पाल्पा । २ श्रावण ।
पाल्पाको प्रशिद्ध पर्यटकीय क्षेत्र श्रीनगरको व्यवस्थापन तानसेन नगरपालिकाले गर्न थालेको छ । विगतमा अन्य संघसंस्थाले व्यवस्थापन गर्दै आएकोमा आर्थिक वर्ष ०७९।८० बाट नगरपालिकाले आफैले व्यवस्थापन सुरु गरेको हो ।
अन्य संघसस्थाद्धारा व्यवस्थापन गर्दा सरसफाई र व्यवस्थापनमा उचित ध्यान नपुगेको जनगुनासो आएपछी तानसेन नगरपालिकाको १७ औं कार्यपालिका वैठकले नगरपालिकाकै सरसफाई शाखाको नेतृत्व र व्यवस्थापनमा श्रीनगरको सरसफाई र व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।


तानसेनको वडा नं. १, ३ र ५ को सम्युक्त क्षेत्रमा पर्ने श्रीनगर डाडा पाल्पाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । यहाँको प्राकृतिक मनोरमतामा रमाउन दैनिक आन्तिरिक तथा वाह्य पर्यटकहरु श्रीनगर आउने गर्दछन् । श्रीनगरको जति प्राकृतिक मनोरमता भएपनि यहाँको व्यवस्थापन देखेर धेरैले मन खिन्न गराउदथे ।
श्रीनगर क्षेत्र पाल्पा जिल्लाको गहना भएको भन्दै यसको व्यवस्थापकीय कार्य सुधार गर्न सके आन्तरिक पर्यटकहरूको संख्यामा उल्लेख्य सुधार हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।
तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिंजालीले जिल्लाभित्र तथा छिमेकी जिल्लाहरूबाट आउने पर्यटकहरूको मन जित्ने गरि श्रीनगर क्षेत्र व्यवस्थापन सुरूवात गरिएको भन्दै सबै नागरिकले श्रीनगरलाइ स्वच्छ, सफा र वातावरणमैत्री राख्न सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।


अहिले तानसेन नगरपालिकाले दैनिक रेखदेख र व्यवस्थापनको लागि ६ जना कर्मचारीहरुको व्यवस्था गरेको छ । तानसेन नगरपालिकाका मेयर शन्तोषलाल श्रेष्ठले ठूला ठूला सपना नदेखाउने बताउदै साना साना समस्या समाधान गर्ने आफ्नो उदेश्य रहेको उल्लेख गर्नुभयो । श्रीनगरलाई केही समयमै यहाँको खानेपानी, विद्युत, शौचालय र सानो लगानीमा व्यवस्थापन गर्ने कार्य नगरपालिकाले गर्ने बताउनुभयो ।