बिष्णु घिमिरे । पाल्पा २८ असार ।
हेफर प्रोजेक्ट नेपालले तानसेनमा इचौतारी स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । कृषकहरुलाई मोवाइल प्रविधि संग जोड्न र समस्या समाधान गर्न जिओ कृषि र इचौतारी स्थापनाका लागि विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको हेफर प्रोजेक्ट नेपालले जनाएको छ ।
तानसेन नगरपालिकालाई एक वटा ल्यापटप, एक प्रिन्टर र स्मार्ट टिभी हस्तान्तरण गरिएको छ । त्यसैगरी नगरपालिकाका सबै वडाहरुलाई एक एक वटा व्रान्डेड कम्प्यूटरहरु गरी १४ वटा कम्प्यूटर, १ वटा ल्यापटप, १ वटा प्रिन्टर र १ वटा स्मार्ट टिभी हस्तान्तरण गरिएको छ । सेवा ग्राही प्रतिक्षा स्थलमा कृषकहरुलाई प्रविधि सम्बन्धी जानकारी गराउने उदेश्यले उपकरणहरु हस्तान्तरण गरिएको थियो ।


कृषकहरुलाई कृषि तथा पशु सम्बन्धी डिजिटल जानकारी, सूचना दिने र कृषकहरुका समस्यालाई विज्ञले समाधान गर्ने मोवाइल एप्लिकेशन जिओ कृषि सम्बन्धी जानकारी दिन, इ चौतारी संचालन गर्न लागिएको हो । नेपालभर १० लाख प्रयोगकर्ता रहने जिओ कृषिमा तानसेन नगरपालिकामा २० हजार महिला कृषकहरु आवद्ध भएका छन् ।
यसै विच विगत २५ महिना देखी तानसेन नगरपालिकामा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकामा भएको समिक्षा कार्यक्रममा तानसेन नगरपालिकाका मेयर शन्तोषलाल श्रेष्ठले साझेदारी कार्यक्रमले राम्रो उपलब्धी ल्याएको बताउदै, कार्यक्रमको निरन्तरता गरिएको उल्लेख गर्नुभयो । तानसेन नगरपालिकाले लगानी गरेको बजेटले कृषकहरुलाई सोझै कार्यक्रम पुगेको उल्लेख गर्दै मेयर श्रेष्ठले यो कार्यक्रमले चालु खर्च घटाएर नगरपालिकाको वजेट पूँजीगतमा जानु उपलब्धीपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु सुनिल कुमार बस्याल, सोमनाथ अर्याल, प्रदिप खनाल, टुकराज भट्राई लगायतले उद्यमशिलता कार्यक्रमले उपलब्धी ल्याएको बताउदै, कार्यक्रमलाई अझ परिमार्जित गरेर जानुुपर्ने सुझाव राख्नुभएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षमा भएका कार्यक्रमहरुको अनुमोदन, नगरस्तरीय अनुगमन गर्ने तथा आगामी आर्थिक वर्षमा संचालन हुने कार्यक्रमहरुको कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको सहजिकरण सस्था ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले जानकारी दिनुभयो ।