विष्णु घिमिरे
पाल्पा । ८ असार ।
रैनादेवी छहरा गाँउपालिका पाल्पाको बाहैं गाउँसभा सुरु भएको छ । बुधवार लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाको प्रमुख आतिथ्यतामा बहैैैं गाउँसभा सुरु भएको हो । गाउँसभामा प्रमुख अतिथि मन्त्री रानाले स्थानीय सरकार गाउँघरकै सरकार भएकोले ठूला सपना बाढ्नु भन्दा साना साना आवश्यकतालाई पूर्ती गर्नुपर्ने बताउनुभयो । मन्त्री रानाले गाउँपालिकाले जनताको सेवा प्रवाहमा ध्यान दिदै समस्याका चाङहरुलाई घटाउदै लग्नुपर्ने उल्लेख गर्नुभयो ।
गाउँसभामा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुखि रैनावासी र समृद्ध रैनादेवीको सपना साकार पार्न नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो । आगामी ०७९।८० को नीति तथा कार्यक्रममा उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मिक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी बनाउने योजना तथा कार्यक्रम प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, मासु, दुध, तरकारी र अण्डामा आत्मनिर्भर पालिका निर्माण, कृषि एम्बुलेन्स, सुलभ कर्जा कार्यक्रम, आठ वडाका आठ पर्यटकीय क्षेत्र प्रर्वद्धन कार्यक्रम समेटिएको बताउनुभयो । त्यसैगरी शिक्षामा सबैको पँहुच, टिकाउ र गुणस्तरीय शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, एक विद्यालय एक नर्श कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम समेटिएको उल्लेख गर्नुभयो ।


वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष भट्टराईले गाँउपालिकालाई शून्य होम डेलिभरी, पूर्ण सरसफाई कार्यक्रम, जेष्ठ नागरिक र अपाङगसंग अध्यक्ष कार्यक्रम, एक हजार परिवारको निशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो । विगतका वर्षहरुमा सचालित राम्रा कार्यक्रमहरुको निरन्तरता दिदै यो वर्ष एक घर एक धारा, धार्मिक सास्कृतीक संरक्षण, युवा संग उपाध्यक्ष कार्यक्रम, एक सय युवा उद्यमी तयार पार्ने, सबै वडामा बस संचालन गर्ने मोटरवाटो निर्माण र स्तोरन्नतीका योजनाहरु रहेको बताउनुभयो ।
विभिन्न राजनीतिक दलहरु, सरोकारहरु व्यक्तिहरुको सहभागितामा आयोजित गाउँसभामा आफ्नै बसपार्क निर्माण, सुरक्षित नागरिक आवास कार्यक्रम, काठेपोलहरु विस्थापन गर्ने, वडा तथा गाउँपालिकाको सेवा प्रवाहमा डिजिटलाइजेसन, गाउँकार्यपालिकाको वैठक पेपरलेस, इन्टरनेट सेवा विस्तारका योजनाहरु संचालन गरिने अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । सामाजिक सुरक्षा भत्ता नागरिकको घरदैलोमा, तथा नागरिकलाई प्रवाह गर्ने सेवा प्रवाहमा चुस्त र छरितो गर्ने कार्यक्रमहरु संचालन हुने उल्लेख गर्नुभयो ।
गाउँसभाको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले जनताले अनुभुत गर्नेगरी सेवा प्रवाह तथा कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । उपाध्यक्ष थापाले नीति तथा कार्यक्रमले धेरै विषयहरु समेटेको बताउदै जनताको आयआर्जन वृद्धी हुने र समृद्ध रैनादेवी बनाउने योजना अनुरुप नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।


गाउँसभामा बोल्दै नेकपा एमालेका श्रीकृष्ण आत्रेयले सर्वदलिय भेलामा दलहरुले दिएका सुझावहरु कार्यान्वयन गर्न आग्रह गर्दै स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष नहुनेभएकोले सहमतीको आधारमा काम गर्न सुझाव दिनुभयो । नेपाली काँग्रेसका विष्णु प्रसाद पोखरेलले नीति तथा कार्यक्रमले धेरै विषय समेटेपनि केही विषयबस्तुहरु छुटेको उल्लेख गर्दै आगामी वर्ष समेट्न आग्रह गर्नुभयो । पोखरेलले जनताका आकंक्षा धेरै वजेट सिमित भएकोले एकै पटकमा सबै समेट्न गारो हुने उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका पदम सोमैले जनताको भावना अनुसार काम गर्न सुझाव दिदै, सहज ढङगले सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । नेकपा समाजवादीका देवी प्रसाद पौडेलले कृषि, शिक्षा र स्वास्थ्यलाई मुख्य आधार बनाएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका फर्सुराम पोखरेलले जनताको मतको आधारमा भन्दा आवश्यकताको आधारमा काम गर्न सुझाव दिनुभयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीले गएको ५ वर्षलाई समिक्षा गर्दै अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । दर्लामीले विगतका राम्रा कामलाई निरन्तरता दिदै वाँकी कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले रैनादेवीका युवालाई मध्यनजर गर्दै खाडीमा बस्ने युवालाई पनि नीति तथा कार्यक्रमले समेट्नुपर्ने बताउनुभयो । नेपाल मंगोल नेशनल अर्गनाइजेसनका देव प्रसाद श्रेष्ठले वडाहरुमा भेदभाव नगरिकन समान व्यवहारमा वजेट वितरण गर्न आग्रह गर्नुभयो ।