रैनादेवी छहरा गाउँपालिका ५ मुझुङका विजय खत्री खेतवारीमा गोरुले जोतेर कृषि गर्दै आउनुभएको छ । मुख्य पेषा कृषि बनाउनुभएका खत्रीलाई आजभोली खेतवारी जोत्न गोरु पाइन छाडेपछी भने चिन्ता लागेको थियो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनी टिलर हाते ट्रयाक्टर वितरण गरेपछी खत्रीलाई अव कृषि पेष ागर्न सहज हुने भएको छ । रैनादेवी छहराका विजय जस्तै थुप्रैलाई गोरुले जोत्दा समयमै वाली नाली लगाउन समस्या परेको छ । समयमा गोरु नपाइने, उत्पादन खर्च बढ्ने समस्या पर्दै आएको छ । रैनादेवी छहरामा ५० प्रतिशत अनुदानमा मिनी टिलर हाते ट्रयाक्टर वितरण भएपछी भने अव कृषकका समस्या समाधान हुने भएका छन् ।


जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिकाका ७१ जना कृषकलाई मिनी टिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष ०७८।७९ को कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताउनु भयो । रैनादेवी छहरा गाउँपालिकामा अधिकाश नागरिकहरू कृषि प्रणालीमा जोडिएको तर परम्परागत र निर्वाहमुखी कृषि प्रणालीका कारण नागरिकहरूको जीवनस्तरमा सुधार भएको छैन् । कृषि प्रणालीको माध्यमबाट व्यवसायिक कृषि र समृद्ध कृषक बनाउन परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने गाउँपालिकाको निती रहेको छ । गाउँपालिकालाई कृषि हवको रूपमा विकास गर्न प्रविधिसंग जोड्न लागिएको गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईको भनाई छ । कृषकहरुलाई आधुनिक मेसिन र औजारहरूको प्रयोग गरि बाझो जमिनको प्रचुर मात्रामा प्रयोग गर्न गाउँपालिका लागि परेको छ । पछिल्लो समयमा जग्गा जमिन बाझो हुने समस्या बढ्दै जान थालेपछी कृषि प्रणालीमा परिवर्तन ल्याउन ल्याउन आधुनिक प्रविधि संग कृषकलाई जोड्न खोजिएको हो ।पहिलो स्थानीय तह निर्वाचन लगत्तै देखी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै कृषकहरुलाई प्रविधि संग जोड्ने कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले रैनादेबी छहरा गाउँपालिकाले समग्र पालिकाको कृषि प्रणालीलाई परम्परागत रूपबाट आधुनिकरण गर्ने कार्य सुरुका वर्षदेखी नै निरन्तर गरिरहेको बताउनुभयो । पन्थीका अनुसार विगतको स्थानीय सरकारले पालिकाको कृषि प्रणालीलाई व्यवसायीकता तर्फ उन्मुख गराएको बताउदै आगामी दिनको नीति तथा कार्यक्रममा समेत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने गरि योजना तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।


रैनादेवी छहरा गाउँपालिकामा बाझो जमिनलाई उर्भर गराउन र कृषकहरुलाई प्रविधि संग जोड्दै कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु संचालन हुदै आएका छन् । अहिले यहाँका कृषकहरुले मिनी टिलर, थ्रेसर, साना कुटानी पिसानी मेसिनहरु, खाडल खन्ने मेसिन, मल्चिङ पलाष्टि प्रविधि, टनेलमा खेती प्रणाली लगायतका प्रविधिहरुको प्रयोग गरी कृषि कर्म गर्दै आएका छन् ।